गाउँपालिकामा अझै बैंकिङ सेवा पुगेन «

गाउँपालिकामा अझै बैंकिङ सेवा पुगेन

मनाङ- हिमालपारीको जिल्ला मनाङमा चारवटा गाउँपालिकमा मध्ये तीन गाउँपालिकामा बैंकिङ सेवा पुगेको छ । एक गाउँपालिका अझै पनि बैंकिङ सेवा पुग्न सकेको छैन । चारवटा गाउँपालिका रहेको यस मनाङ जिल्लामा सदरमुकाम चामेमा मात्र बैंकिङ सेवा रहेकोमा अहिले थप दुई गाउँपालिकामा बैंक पुगेको छ । हालसम्म मनाङ जिल्लाको सदरमुकाम चामेमा मात्र सरकारी तथा प्राइभेट वित्तीय संस्था सहकारी साना तथा ठूला बैंकहरू गरी १० वटा छन् ।
सदरमुकाम चामेमा १० वटा बैंक खुलिसकेको अवस्थामा पनि अन्य तीन गाउँपालिकामा कुनै पनि बैंकको शाखा कार्यालयहरू तथा बैंक पुगेको थिएन । मनाङ जिल्लाको तल्लो भागमा रहेको नाशोङ गाउँपालिका–३ धारापानीमा कैलाश विकास बैंक र प्रभु बैंकको शाखा गरी दुई बैंक संचालनमा आएको छ ।
मनाङ जिल्लाको माथिल्लो भेगमा रहेको मनाङ ङिस्याङ गाउँपालिकामा पनि गाउँपालिका रहेको स्थान मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालनमा आएपछि माथिल्लो भेग अपर मनाङमा पनि बैंकिङ सेवा पुगेको हो । तल्लो मनाङ अर्थात नांशोङ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका स्थानीयवासीहरू बैंकिङ सेवाका लागि सदरमुकाम चामे धाउन नपर्ने भएको छ । उक्त दुई गाउँपालिकामा बैंक सञ्चालनमा आएपछि केही हदसम्म भए पनि छिटोछरितो र सहज भएको स्थानी एक होटल व्यवसायी पशुपति अधिकारीले बताए ।
बैंकिङ कारोबारका लागि भनेर सदरमुकाम आउन नपर्ने भएको स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । यता मनाङ जिल्लाको अति बिकट मानिने नार फू गाउँहालको नार्पाभूमि गाउँपालिका भने बैंकविहीन छ । सरकारी बैंक नेपाल बैंकको शाखा कार्यालय नार्पाभूमि गाउँपालिकामा जाने भन्ने कुरा भए तापनि अझै नेपाल राष्ट्र बैंकबाट कुनै पनिप्रतिक्रिया नआएको बताए । नेपाल बैंक लिमिटेड चामे शाखाका शाखाप्रबन्धक केहर सिंह गुरुङ नार र फू दुई गाउँ रहेको हालको नार्पाभूमि गाउँपालिका अति बिकट, थोरै जनसंख्या र असुविधा भएकाले पनि बैंकहरूको शाखा लैजान नसकिएको अन्य बैंकका बैंक प्रबन्धकहरूको भनाइ छ ।
जिल्लामा नेपाल बैंक लिमिटेड शाखा संख्या एक, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक, कृषि बैंक लिमिटेड एक, प्रभु बैंक लिमिटेड शाखा कार्यालय दुई, सिटिजन्स बैंक लिमिटेड एक, ओम डेभलपमेन्ट बैंक लिमिटेड एक, गण्डकी विकास बैंक लिमिटेड एक र अन्य सहकारी संस्था एक र वित्तीय बैंक दुई गरी जम्मा १० वटा बैंकहरूले बैंकिङ सेवा दिँदै आएको छ । जिल्लाभित्र शाखा कार्यालय सञ्चालन गरेको प्रभु बैंक लिमिटेड बैंकले मात्र जिल्लाभित्र शाखा कार्यालय सञ्चालन गरी बैंकिङ सेवा दिँदै आएको छ ।
मनाङको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय सञ्चालन हुँदा व्यक्तिगत तथा सरकारी बैंकिङ कारोबारहरू गर्न सहज भएको मनाङ ङिस्याङ गाउँपालिकाका स्थानीयवासी र सरकारी कर्मचारीहरूले खुसी व्यक्त गरेका छन् ।
नार गाउँ ४,१०० मिटर र फू गाउँ ४,०३० मिटर उचाईमा रहेको यो दुई गाउँको संयोजन नै नार्पाभूमि गाउँपालिका हो । नार्पाभूमि गाउँपालिकामा १२२ घरधुरी छ भने ५ सय ३८ जना जनसंख्या रहेको यो गाउँपालिकामा हालसम्म पनि कुनै पनि बैंक पुगेको छैन ।
यस स्थानको मानिसहरू एक दिनलगाएर सदरमुकाम चामे आउने गरेको बताउँछन् । प्रतिनिधिहरूले पनि खासै वास्ता नगरेको र बैंकहरू पनि नार्पाभूमिमा बैंक राख्न नमान्ने गरेको स्थानीय जनताहरूको आरोप छ । यता प्रतिनिधिहरू भने यस क्षेत्रमा बैंक ल्याउन सक्दो प्रयास भइरहेको र बैंकहरूसँग पनि कुरा अगाडि बढेको बताउँछन् नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङमार छिरिङ लामा ।

 

प्रतिक्रिया दिनुहोस्