‘अधिकार पाइयो, कामको बोझ बढ्यो,

“पैले पैले कोदो, फापर लगाउँथ्र्यौं अहिले बारीमा तरकारी खेती गर्छु,” बाजुराकी कैली थापा भन्छिन्, “छिटो फाइदा हुन्छ भनेर तरकारी खेती गरेको तर कृषि कार्यालयले कीरा मार्ने औषधि पनि दिँदैन, बजारमा जाँदा तरकारीको मूल्य पनि पाएको छैन ।” पछिल्लो समयमा कृषि क्षेत्रमा महिलाको पहुँच बढ्दै गर्दाको अवस्था चित्रण गर्दै उनले यो आएको हो ।
युवा पलायनले नेपाली महिलाको कृषि र भूमिमा पहुँच बढेको एक अध्ययनले देखाएको छ । सोही अध्ययनमा आधारित भएर कृषि कर्मको महिलाकरणको कारण र प्रभावको विषयमा फरेस्ट एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा बाजुराकी थापाको भनाइ आएको हो । कार्यक्रममा सहभागी कृषि क्षेत्रमा सक्रिय महिलाले पुरुषको पलायन र भूमिमा महिलाको स्वामित्व प्रोत्साहन गर्ने सरकारी नीतिका कारण कृषिमा महिलाको स्वामित्व बढेकोमा मिश्रित प्रतिक्रिया दिएका छन् । सहभागी महिलाले कृषिमा महिलाकरणलाई अवसर र चुनौति दुवैको रुपमा लिँदै यो अवस्थालाई अधिकार पाइएको तर थप कामको बोझ बढेका रूपमा हेरेका छन् ।
फरेस्ट एक्सनले ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ९ जिल्लाका २२३ घरधुरी सर्वेक्षण, १६ समूहगत छलफल र १४ जना विज्ञसँग छलफल गरेर तयार पारेको प्रतिवेदनअनुसार महिलाकरणको सकारात्मक र नकारात्मक प्रभाव दुवै छन् । “कृषिमा बढ्दो महिलाकरण सँगसँगै कृषि समग्री र सेवामा महिलाको पहुँच वृद्धि भएकोसमेत सकारात्मक पक्षका रूपमा पाइएको छ,” प्रतिवेदनमा भनिएको छ, “पुरुषहरूको विदेश पलायन सँगसँगै काम तथा जिम्मेवारी महिलाको काँधमा आउनुका साथै कृषि सामग्री र सेवामा पहुँच वृद्धि भएको पाइएको छ ।” अध्ययनअनुसार सेवा लिन जानेमा १७७ जना महिला र ३१ जना मात्र पुरुष पाइएका छन् भने जिल्ला कृषि र पशु सेवा कार्यालय जाने १७१ महिला र ३५ पुरुष, एग्रोभेट जानेमा १७५ महिला र ३४ पुरुष तथा कृषि सामग्री खरिद गर्न जानेमा पनि १५९ महिला र ४५ मात्र पुरुष छन् ।
“बुढाले विदेशबाट पठाएको पैसा उडाएर सक्ने अनि गाउँमा नेता बनेर हिँड्ने प्रवृत्ति महिलाले त्याग्नुपर्छ, महिला समूह बनाएर हामी महिला नै सक्रिय भएर लागेमा धेरै गर्न सकिन्छ ।” |
महिलाले परम्परादेखि गर्दै आएको कामसँग हलोजोत्नेलगायत यसअघि पुरुषले गर्ने काम पनि महिलाले गर्नुपर्ने देखिनुलाई अध्ययनले महिलामा परेको नकारात्मक प्रभावका रूपमा चित्रण गरेको छ । महिलाकरणको सकारात्मक प्रभावमा महिला उद्यमशीलता विकास र लैंगिक समावेशीका तथा निर्णयमा पहुँच मुख्य छन् भने नकारात्मक प्रभावमा कार्य बोझ, जमिन बाँझिनु, श्रम अभाव, उत्पादनमा कमी, बढ्दो खाद्य वस्तु आयात र खाद्य असुरक्षा बढ्नुलगायत रहेका छन् । महिला मैत्री कृषि औजारको विकास, महिला मैत्री कृषि समूह तथा संगठन तथा सेवा प्रदायक, सहज तथा सरल प्रविधिलगायतका विषयमा जोड दिएमा महिलाकरणबाट लाभ लिन सकिने निष्कर्ष अध्ययनको छ ।
महिलाकरणलाई लाभका रूपमा लिनुपर्नेमा आकाशगंगा कृषि सहकारी लिमिटेडका अध्यक्ष प्रेमकला नेम्वाङको जोड छ । “महिलामाथिको बोझ सदियौंदेखि नै छ, महिलाकरणलाई अवसरको रुपमा लिनुपर्छ,” उनी भन्छिन्, “बुढाले विदेशबाट पठाएको पैसा उडाएर सक्ने अनि गाउँमा नेता बनेर हिँड्ने प्रवृत्ति महिलाले त्याग्नुपर्छ, महिला समूह बनाएर हामी महिला नै सक्रिय भएर लागेमा धेरै गर्न सकिन्छ ।” कतिपय क्षेत्रका पुरुषहरू गाउँमै हुँदा पनि उनीहरूका लागि थप काम गर्नुपर्ने जिम्मेवारी हाल हटेकाले सो समयको पनि उपयोग गर्दै कृषि विकासमा लाग्नुपर्ने तर्क उनको छ ।
भक्तपुरकी किसान रिता बस्नेतले समान कामको समान ज्याला नपाउनु पनि महिलाले भोग्दै आएको समस्या रहेको बताइन् । कार्यक्रममा सहभागी बाजुराकी सञ्चारकर्मी नन्दा थापा, बर्दियाकी कृषक रामकुमारकी चौधरी, ललितपुरकी कृषक कृष्णा लोहनीलगायतले कृषिमैत्री प्रविधि र सरोकारवालाको साथले महिलाले नै अर्थतन्त्रमा सुधार ल्याउन सक्ने धारणा राखे । कार्यक्रममा सहभागी राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर केसी, कृषि विज्ञ डा. कृष्ण पौडेल, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी, भूमिसुधार मन्त्रालयका गोपाल गिरी, कृषि विकास मन्त्रालयका बासुदेव काफ्ले लगायतका कृषिसँग सरोकार राख्ने निकायका प्रतिनिधिहरूले महिलामैत्री नीति, कार्यक्रम र प्रविधि विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।