Logo

सवारी खरिद गर्ने सिजन

वस्तु वा सेवाको अधिक उपयोग हुने समयलाई त्यसको सिजन भनिदै आएको छ । यसको अर्थ अन्य समयमा त्यस्ता वस्तुको प्रयोग हुँदैन भन्ने चाहिँ होइन । सामान्य समयमा भन्दा धेरै बिक्री हुने समयलाई सिजनका रुपमा अथ्र्याउने गरिन्छ ।
नेपालीहरुले अक्सर नयाँ सामान खरिद गर्ने सिजनका रुपमा चाडपर्वलाई लिने गरेका छन् । यो हाम्रो परम्पराकै रुपमा स्थापित भएको छ । त्यो भन्दा अघि हाम्रोमा सवारीसाधन तथा त्यसको पार्टपुर्जाको बिक्री तथा प्रदर्शनीको मेला लाग्ने गरेको छ । यो पनि चाडपर्वको मुखैमा हुने गरेको छ । सवारी बिक्रेताहरुले उक्त समयमा आफ्नो बिक्री बढाउन विभिन्न स्किम ल्याउने गरेका छन् भने उपभोक्ताले समेत नयाँ सवारी खरिद गर्ने उपयुक्त सिजनको रुपमा लिने गरेका छन् ।
दसैं÷तिहारजस्ता ठूला चाडपर्व नजिकिएकाले सवारी बिक्रेताहरुमा यसले अवसर ल्याउने बताउँछन् नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद दुलाल । “दसैं÷तिहार नजिकिँदै छ, त्यो भन्दा पहिले नाडा अटो शो हुने गरेको छ,” उनले भने, “यसले सवारी बिक्रेता तथा उपभोक्ता जोड्ने गर्छ ।” दसैंमा केही नयाँ किन्ने भन्ने नेपालीहरुको परम्परालाई क्यास गर्न सवारी बिक्रेताहरु लाग्ने गरेका छन् । नेपाली उपभोक्ताहरुलाई केही नयाँ किन्नु पर्छ भन्ने कुराले प्रभावित पार्ने र बिक्रेतालाई आफ्नो व्यावार विस्तार गर्ने उपयुक्त अवसरका रुपमा रहने हुनाले यसलाई सवारी बिक्रीका हिसाबले सिजनकै रुपमा हेर्ने गरिएको दुलालको भनाइ छ ।
यो वर्ष भदौ २६ गतेदेखि नाडा अटो शो हुँदै छ । ६ दिनसम्म चल्ने यो मेलामा आफ्नो सवारीबारे भरपुर जानकारी दिँदै बिक्री बढाउन सवारी विक्रेताहरु लागि परेका हुन्छन् भने उपभोक्ता पनि अन्य समयमा भन्दा अटो शोमा धेरै सुविधा पाइने हुनाले सवारी खरिदको उपयुक्त अवसर ठान्छन् । नेपाली बजारमा उपलब्ध सबैजसो सवारीसाधनहरु एउटै स्थलमा उपलब्ध हुने गरेको छ । त्यो मेसो अटोमोबाइल बिक्रेताहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मिलाउँदै आएको छ ।
यसले उपभोक्ताहरुलाई एकै ठाउँमा आफूले किन्न लागेको सवारीको विभिन्न विकल्पहरु उपलब्ध हुने अटो व्यवसायीहरुको भनाइ छ । अटो शोमा एउटै सेगमेन्टका गाडीहरु विभिन्न कम्पनीका एकै ठाउँमा हुने भएकाले उपभोक्ताले रोजेर आफूलाई उपयुक्त लागेको सवारी किन्न पाउने अवसर समेत प्राप्त हुन्छ । त्यसैले अवको समय उपभोक्ता तथा सवारी बिक्रेताका लागि राम्रो सिजन हुने गरेको व्यवसायीहरु बताउँछन् ।
अटो शोमा सबै प्रकारका सवारीहरु राखिने गरेको छ । प्यासेन्जर कार र मोटरसाइकल, एसोसिरिज तथा अन्य सवारीसाधनसँग सम्बन्धीत सामग्रीको प्रदर्शनी तथा बिक्री हुने गरेको छ । तर प्यासेन्जर कार तथा मोटरसाइकलमा उपभोक्ता तथा बिक्रेता दुवै केन्द्रीत हुने गरेका छन् ।
नाडा अटो शोसमेत सुरु हुन लागेकाले उपभोक्ता तथा बिक्रेताहरुको ध्यान त्यतातर्फ आकर्षित हुन थालेको छ ।
तर टाटाले अटो शो भन्दा पहिले हरेक वर्ष आफ्नो तर्फबाट छुट्टै टाटा कार सेल मेला गर्दै आएको छ । टाटा कार सेल मेलाको छैटौं सिजन केही साताअघि सकिएको छ । अटो शोले सवारी बिक्रेता र उपभोक्तालाई जोड्ने व्यवसायीहरु बताउँछन् ।
भारतलगायत अन्तर्राष्ट्रिय बजारमा हुने अटो शोहरुमा सवारीको डिस्प्ले तथा कन्सेप्ट कारहरु देखाइने भएपनि नेपालमा हुने अटो शो सवारीको प्रदर्शनीसँगै बिक्रीमा समेत केन्द्रीत हुने गरेको छ । अटो शोलाई बिक्रेताले मात्र होइन, उपभोक्ताले समेत सवारी खरिद गर्ने उपयुक्त अवसरका रुपमा लिने गरेका छन् । नेपालमा हुने अटो शोमा नयाँ सवारीहरु सार्वजनिक गर्ने, त्यस्ता सवारीको फिचर हाइलाइट गर्ने, सेल्स गर्नेमै केन्द्रीत हुने गरेका छन् ।
नाडा अटो शोमा सबैजसो सवारी विक्रेता कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने हुनाले यसलाई सेल्स गर्ने प्लेटफर्मकै रुपमा लिने गरेका छन् । उपभोक्ताहरु पनि मेला भनेपछि नयाँ सवारी हेर्न, त्यसबारे जानकारी लिन पाइने, छनोटको अवसर राम्रो हुने तथा फाइनान्सको समेत व्यवस्था हुने भएकाले सवारी खरिदको उपयुक्त अवसरका रुपमा लिने गरेका छन् ।
मानिसको जीवस्तर बढेसँगै विगतमा सपना जस्तै लाग्ने सवारी खरिद हिजोआज आवश्यकता जस्तै भएको छ । आम्दानीको स्तरमा भएको वृद्धि, सवारीको सहज उपलब्धता र फाइनान्सको सुविधाले सवारी क्रमिक रुपमा सहज बन्दै भएको छ । नेपाली बजारमा साना-ठूला सवारी, हेभी इक्युपमेन्ट तथा मोटरसाइकल गरी दर्जनौं ब्रान्डहरु उपलब्ध रहेका छन् ।
प्यासेन्जर कारमा हुन्डाई, टाटा, निशान, सुजुकी, महिन्द्रा, टोयटा, फोर्ड, फक्सवागेन, स्कोडा, होन्डा, डायत्सु, माज्दा लगायत ब्रान्डका गाडी आयात हुने गरेका छन् । अधिकांश सवारी भारतीय कम्पनीमा निर्मित सवारी आयात हुने गरेको छ । नेपालमा भारत बाहेक चीन, जापान, मलेसिया, जर्मनी, इटाली, फ्रान्स लगायत मुलुकमा उत्पादन भएका गाडी आयात हुन्छन् । नेपालमा तेस्रो मुलुकबाट आउने गाडी २० लाख रुपैयाँ देखि ४ करोड रुपैयाँ भन्दा बढी मूल्यसम्मका रहेका छन् । केही अघिसम्म भारतीय बजारमा उत्पादित सवारीको मूल्य तुलनात्मक रुपमा सस्तो हुने मान्यता व्यवसायिहरुको थियो । तर अहिले सबैजसो सवारी भारतमै उत्पादन हुने भएकाले त्यस्तो भिन्नता देखिने गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्