Logo

राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वा्चित सांसद दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताए ।
एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उनले भने, “दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन । हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन ।” संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको बताउँदै नेता दाहालले भने, “पछि हट्ने विकल्प छैन ।”
उनले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन भन्दै विपक्षमा रहने कांग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताए ।

विवाद नगर्न दलहरूलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उनले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गरिन् । “राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु मिल्नाको विकल्प छैन,” राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भने । राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलबीच सहमति हुन सकेको छैन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका शीर्ष नेतासँग पनि शुक्रबार छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्