Logo

विश्व बैंकले थप ३० अर्ब ऋण दिने

काठमाडौं: सरकारले विश्व बैंकसँग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व बैंकसँग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको हो ।

मंगलबारदेखि अमेरिकाको वासिङ्टन डिसीमा सुरु भएको विश्व बैंकको वार्षिक गभर्नर्स बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने अर्थसचिव डा. शान्तराज सुवेदीले जानकारी दिए । बैंकले केही दिन अघिमात्र शासकीय सुधारलगायत अन्य क्षेत्रमा १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

बैंकको वार्षिक बैठकमा नेपालको तर्फबाट सहभागी हुन अर्थसचिव डा. सुवेदी मंगलबार अमेरिका प्रस्थान गरेका छन् । बैठकमा विश्व बैंकको सहायतामा सञ्चालित परियोजनाको प्रगतिका बारेमा विश्लेषण हुनुका साथै भूकम्प पीडितलाई घर बनाउनका लागि शून्य ब्याज दरमा ऋण माग्ने सचिव सुवेदीले बताए ।

उनका अनुसार विश्व बैंक नेपाललाई थप सहयोग गर्न सकरात्मक भएको छ । बैंकले शून्य ब्याज दरमा थप रकम ऋण दिने संकेत समेत गरेको उनले जानकारी दिए । हालसम्म बैंकले झण्डै ३५ अर्ब रुपैयाँ अनुदान दिइसकेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विशेष कारणवस नजाने भएपछि नेपालको नेतृत्व सचिव सुवेदीले गर्न लागेका हुन् । बैठक आइतबार सम्म चल्ने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्