राष्ट्रिय सहकारी बैंकको साधारणसभाले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले गत आवको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आवको वार्षिक नीति तथा कार्यक्रमसमेत पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.युवराज खतिवडाले सहकारी ऐनसँगै सहकारी बैंकलाई स्पष्ट नीतिका साथ अगाडि बढ्ने वातावरण आवश्यक रहेको उल्लेख गरे । देशभरका करिब १० हजार सहकारी संघ–संस्था सेयर सदस्य रहेकोे बैंकमा हालसम्म नेपाल सरकारको १ करोडसहित बैंकको सेयर रकम ९४ करोड छ । यसैगरी बैंकले १५ अर्ब निक्षेप संकलन तथा १० अर्ब कर्जा लगानी गरेको छ । हालसम्म ३७ शाखाबाट सेवा दिइरहेको बैंकले छिट्टै १० ठाउँमा शाखा विस्तार गर्ने जनाएको छ ।