कारोबार संवाददाता
मंगलबार, जेठ २०, २०७७
472

टोकियो, जापान -जापान सरकारले नयाँ कोरोना भाइरस कोभिड १९ परिक्षणको नयाँ प्रविधिलाई मंगलबार स्विकृत प्रदान गरेको छ ।

र्‍याल वा खकारबाटै कोभिड १९ परिक्षण गर्न सकिने यस्तो विधि सहज र सुरक्षित हुने बताईएको छ ।

यसअघि अपनाईंदै आएको पिसिआर प्रविधिबाट परिक्षण गर्दा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम हुने गर्दथ्यो । जसमा व्यक्तिको नाकको भित्रि भागबाट सिगान वा मुखको भित्रि भागबाट र्याल निकाल्नु पर्दथ्यो ।
त्यसो गर्दा परिक्षणको लागि नमुना लिने व्यक्तिले खोकी वा हाच्छिउँ गर्दा कयौं घटनामा संक्रमण सरेको पाईएको बताईन्छ ।

र्‍याल वा खकारबाटै परिक्षण गर्दा सामान्य त संक्रमण भएको ९ दिन पछिको नतिजा सहि देखाउने बताईएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले नयाँ परिक्षण प्रविधिले हाल रहेको परिक्षण क्षमता बढाउनुका साथै परिक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुमा संक्रमणको जोखिमलाई घटाउने बताएको छ ।

जापानमा कोरोना भाइरस परिक्षण न्यून भएका कारण संक्रमणदर फेरी दोस्रो लहरमा सुरु भएको आलोचना बढ्दै जाँदा नयाँ परिक्षण प्रविधिको अनुमतिले दैनिक परिक्षणको संख्यामा बृद्धिहुने ठानिएको छ ।

जापान तत्कालका लागि कोरोना भाइरस संक्रमणको महामारीबाट बचेपनि कम परिक्षणका कारण भविष्यमा महामारीको चपेटामा पर्नसक्ने चेतावनी विज्ञहरुले दिंदै आएका छन् ।
जापानमा पछिल्लो केही सातायता दैनिक केवल ६ हजारको आसपासमा मात्र कोरोना संक्रमण परिक्षण भईरहेका छन् ।

समग्रमा मे २० तारिखसम्ममा प्रति एक हजार व्यक्तिमा ३.४ प्रतिशत परिक्षण भएको छ । यो संख्या दक्षिण कोरिया, अमेरिका, ईटाली, फ्रान्स, चिन लगायत दर्जनौं विकसित देशको तुलनामा अति न्युन हो ।