कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
379

धनगढी-दुई रात एक दिन लगातार भएको वर्षाले सुदूरपश्चिम प्रदेशको इँटा उद्योगमा रहेका करिब १ अर्ब रुपैयाँको काँचो इँटा गलेर नष्ट भएको छ ।
सेती महाकाली इँटा व्यवसायी संघका अनुसार प्रत्येक इँटा उद्योगमा १२ देखि १५ लाख रुपैयाँ उत्पादन लागतको काँचो इँटा गलेको नष्ट भएको छ । सुदूरपश्चिम प्रदेशमा ७० वटा इँटा उद्योग सञ्चालनमा छन् ।

सेती महाकाली इँटा व्यवसायी संघले आइतबार धनगढीमा क्षतिबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रदेश अध्यक्ष वीरबल विकले सबै इँटा भट्टा गरी १२ देखि १५ करोड रुपैयाँको कच्चा पदार्थ मात्रै नष्ट भएको बताए । उनले अचानक पानी परेको हुनाले बचाउने प्रयास गर्दा गर्दै पनि नसकिएको बताए ।
अध्यक्ष विकले यसपालि एक्कासि ठूलो वर्षा भएकाले इँटा जोगाउन नसकिएको बताए । उनले इँटाको चाङ प्लास्टिकले छोप्दा छोप्दै बताससहित परेको पानीले ठूलो क्षति गरेको बताए । उनले माथिबाट छोपे पनि तल पानी जमेर चाङ खसेर इँटा गलेको बताए । उनले काँचो इँटा, इँटा पकाउने भट्टाभित्र राखेको कोइला लगायतको क्षति भएको बताए ।
संघका अनुसार ७० वटा इँदा उद्योगमा करिब ७ हजार मजदुर कार्यरत छन् । इँटा गलेर नष्ट भएपछि व्यवसायीहरू मर्कामा परेको अध्यक्ष विकले बताए । उनले हरेक इँटा उद्योग ३-४ करोडको ऋणमा रहेको बेला पानी परेर इँटा नष्ट भएपछि मजदुरहरूलाई समेत प्रभाव परेको बताए ।
बीमा कम्पनीले पाकेको इँटाको बिमा गरिदिए पनि काँचो इँटाको बिमा नगरिदिँदा व्यवसायी मर्कामा परेको महाकाली इँटा तथा टायल व्यवसायी संघका अध्यक्ष बल्देवसिंह बुडालले बताए । उनले काँचो इँटाको बिमा गरिदिएमा आफूहरूले मागेजतिको प्रिमियम तिर्न तयार रहेको बताए ।
सेती इँटा उद्योग व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले सरकारले काँचो इँटाको समेत बिमा गर्ने व्यवस्था मिलाई दिनुपर्ने माग गरे । उनले प्रदेश सरकारले उद्योग सञ्चालनका लागि वातावरण बनाउन पछिल्लो केही महिनाको ऋणको ब्याज मिनाहा गर्ने व्यवस्था मिलाएका अहिलेको क्षतिबाट इँटा उद्योगीहरूले राहत पाउने बताए ।
संघले काँचो इँटाको बीमाको व्यवस्था गर्नुका साथै ब्याज मिनाह र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार रातिदेखि शुक्रबार रातिसम्म कैलाली र कञ्चनपुरमा ९२ मिलिलिटर वर्षा भएको जल तथा मौसम अनुमान विभागले जनाएको छ ।
२०७६ जेठ २३ गते कैलाली र कञ्चनपुरमा हावाहुरीसँगै भएको वर्षाले पनि काँचो इँटा गलेर उद्योगीहरूलाई करोडौंको नोक्सान भएको थियो ।

 मुकेश चौधरी