एजेन्सी
शुक्रवार, मंसिर २०, २०७६
592

टोकियो-चुरोट खानाले आर्थिक र शारीरिक हानि त पुग्छ नै, तर यसैका कारण कार्यालयमा कर्मचारीको उत्पादक क्षमतामा पनि कमी आउँछ । यसैलाई मध्यनजर गर्दै जापानको एक कम्पनीले अनौठो तरिका अपनाएको छ ताकि कम्पनीले कर्मचारीलाई चुरोट छोड्नका लागि प्रेरित गर्न सकोस् ।
टोकियोको मार्केटिङ फर्म पिएला इंकले धूम्रपान नगर्ने कर्मचारीलाई ६ दिनको अतिरिक्त छुट्टी दिने नीति ल्याएको छ । धूम्रपान नगर्ने कर्मचारीका लागि सिगरेट ब्रेकको आवस्यकता भएको र यसले उत्पादकत्वमा कमी आउने कम्पनीको ठहर छ ।

यो कम्पनीको कर्पोरेट अफिस २९ औं तलामा रहेको छ । कसैलाई पनि सिगरेट ब्रेक लिनु छ भने उनीहरू भुइँतलामा जानुपर्छ । यसका लागि १५ मिनेटको समय खर्च हुने गरेको छ । यसै कारण चुरोट नखाने कर्मचारीमा आक्रोश उत्पन्न थियो ।
जब कम्पनीका सिइओ ताकाओ असुकालाई यो कुराका बारेमा जानकारी भयो, उनले धूम्रपान नगर्ने कर्मचारीलाई क्षतिपूर्तिस्वरूप ६ दिनको अतिरिक्त छुट्टी दिने फैसला गरे ।
कम्पनीका प्रवक्ता हिरोताका मत्सुसिमाले भने, “धूम्रपान नगर्ने एक कर्मचारीले यसै वर्षको सुरुमा कम्पनीको सुझाव पेटिकामा एक सन्देश छोडेका थिए कि धूम्रपानका कारण समस्या हुने गरेको छ र मानिसको उत्पादन क्षमतामा पनि कमी आएको छ ।”
उनले भने, “हाम्रा सिइओले टिप्पणी हेरे र यसमा सहमतिसमेत जनाए ।” यसैका आधारमा धूम्रपान गर्नेले खर्च गरेको समयका आधारमा धूम्रपान नगर्नेलाई क्षतिपूर्तिबापत ६ दिनको अतिरिक्त छुट्टी दिइएको हो ।