एजेन्सी
सोमवार, भदौ ३०, २०७६
416

लन्डन-विश्वकै ठूलो तेल कम्पनी अरामकोमा भएको हुथी बिद्रोहीको आक्रमणपछि विश्वभरीमा तेलको मूल्य प्रभावित भएको छ । तेल बजारमा कच्चा तेलको मूल्यमा १० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
साउदी अरेबिया तथा अमेरिकाले यो हमलाका पछाडि इरान समर्थित हुथी बिद्रोही जिम्मेवार भएको बताएका छन् । उनीहरुले इरानलाई यसको परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् । यद्यपि इरानले भने यस किसिमको हमलामा आफ्नो कुनै हात नभएको भन्दै आरोपको खण्डन गरेको छ । साउदी अरेबियाले यो आक्रमणपछि उत्पादनमा आधाले कटौती गरेको छ । हङकङबाट प्राप्त जानकारी अनुसार सोमबार याहाँ ब्रेन्ट कच्चा तेलको मूल्यमा ११.७७ प्रतिशतले वृद्धि भएर प्रति व्यारेल ६७.३१ डलर पुगेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले साउदी अरबको तेल क्षेत्रमा भएको ड्रोन हमलाप्रति इरानलाई जिम्मेवार ठहराएका छन् । यसका कारण साउदी अरबको तेल क्षमतामा लगभग आधा हिस्सा र विश्वव्यापी तेल आपूर्तिमा ५ प्रतिशतले कटौती भएको छ । शनिबार १० ड्रोनबाट भएको हमलाका कारण साउदी अरबको सबैभन्दा ठूलो तेल क्षेत्र मध्येको एक हिजरा खुरेस प्रभावित भएको छ । यो क्षेत्रले प्रतिदिन १५ लाख व्यारेल तेलको उत्पादन गर्दै आएको छ । विश्वकै सबैभन्दा ठूलो कच्चा तेलको भण्डार रहेको अबकेकले ७० लाख व्यारेल तेल प्रशोधन गर्दै आएको छ । ड्रोन आक्रमणमा यही क्षेत्रलाई निशाना बनाइएको थियो ।
हमलापछि पोम्पियोले ट्वीट गर्दैै भनेका छन्,“साउदी अरबमाथिको करिब १०० हमलाका पछाडि तेहरानको हात हरेको छ । जबकी इरानी राष्ट्रपति रुहानी तथा विदेश मन्त्री मोहम्द जावन जरिफले कुटनीतिमा समावेश हुने देखावटी गरिरहेका छन् । तनाव कम गर्ने आह्वानकाबीच इरानले अब विश्वको उर्जा आपूर्तिमा कडा हमला गरेको छ ।’’