एजेन्सी
बुधवार, भदौ २५, २०७६
310

क्वालालाम्पुर-देशका केही भागमा हावाको गुणस्तर कम भएकाले मलेसियाले क्लाउड सिडिङको माध्यमबाट वर्षा गराउने भएको छ । छिमेकी देश इन्डोनेसियाको जंगलमा लागेको आगोपछिको धुवाले मलेसियाको वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ । एक अधिकारीका अनुसार कुइरोका कारण दक्षिण पूर्वी एसियाको केही हिस्सा प्रदूषणयुक्त भएको छ ।
इन्डोनेसियामा पाम तेलको रुख सफाइ गर्नका लागि मैदानमा आगो लगाइने गरिन्छ र यस किसिमको समस्या बढ्न जान्छ ।

मलेसियाको पूर्वी राज्य बोर्नियो द्विपको केही क्षेत्रमा विगत केही दिनदेखि कुइरो लाग्दै आएको छ । पर्यावरण मन्त्रालयका विशिष्ट अधिकारी ग्यारी थेइराले भने,“केही स्थानको प्रदूषक सूचकांकले यो धेरै खतरनाक अवस्थामा पुगिसकेको छ । करिब ५ लाख जनसंख्या भएको कुचिङमा अवस्था भयावह बनेको छ ।
मलेसिया कुइरो कम गर्ने प्रयासमा वर्षाका लागि क्लाउड सिडिङ गर्नका लागि तयार भएको उनले बताए । उनले भनेका छन्,“जुन समयमा बादलको अवस्था ठीक हुन्छ, सोही समयमा रसायनका साथ विमान पठाइने छ र क्लाउड सिडिङ गरिनेछ ।”
विश्वका कतिपय मुलुकले सुख्खा स्थितिको अन्त्य गर्न र वर्षा गराउनका लागि क्लाउड सिडिङको साहारा लिने गरेका छन् ।