एजेन्सी
आइतवार, श्रावण ५, २०७६
1603

बेइजिङ-फाइभ–जीको व्यापारिक सम्झौतामा विश्वभरी गरेर हुवावेले ५० भन्दा बढी सम्झौता गरेको कम्पनीको बोर्ड सदस्य र वरिष्ठ उपाध्यक्ष क्याथरिन चेनले बताएको सिन्ह्वा समाचार समितीले जनाएको छ ।
अमेरिकाले आफ्ना मित्र मुलुकहलाई हुवावे टेक्नोलोजीमाथि प्रतिबन्ध लगाउन दबाब दिए बावजुद युरोपपमा मात्रै २८ सम्झौता भएको चेनले बताइन् ।

जुनमा हुवावेले साउदी अरेबियामा फाइभ–जीको व्यापारिक नेटवर्क लन्च गरेको थियो । अमेरिका, क्यानडा र न्यूजिल्यान्ड लगायतका मुलुकहरुले उक्त कम्पनीलाई पाँचौ पुस्ताको प्रविधि निर्माण गर्न अवरोध गरेको थियो । हुवावेले रुसको प्रमुख इन्टरनेट र मोबाइल प्रदायक एमटीएससँग पनि सम्झौताको घोषणा गरेको थियो । हुवावेले कैयौ रुसी प्रविधिहरुसँग सहकार्य गर्न र उनीहरुको प्रविधि प्रयोग गर्नका लागि पनि सम्पर्क गरेको छ ।
विश्वकै ठूलो दुर सञ्चार प्रदायक हुवावेले पहिलो विश्वव्यापी फाइभ–जीका लागि आह्वान गरेको र २०१८ मा पहिलो फाइभ–जी टर्मिनल डिभाइस लन्च गरेको थियो । त्यसयता सेनझेनमा रहेको फर्मले अमेरिकाबाट ठूलै दबाबको सामना गर्दै आएको छ ।
वासिङटनले कम्पनीले चिनियाँ सरकारका लागि जासुसी गरेको आरोप लगाउदै आएको छ । यो अभियोग बेइजिङ र हुवावे दुवैले अस्वीकार गर्दै आएका छन् । हुवावेलाई आवश्यक पार्टस र प्रविधि आपूर्ति गर्ने अमेरिकी कम्पनीसँग व्यवसाय गर्नबाट पनि प्रतिबन्ध लगाएको छ ।
ट्रम्प प्रशासनले आफ्ना मित्र राष्ट्रहरुलाई फाइभ–जीको रोलआउटबाट हुवावेलाई प्रतिबन्ध लगाउनका लागि दबाब दिँदै आएका छ । अस्ट्रेलिया र जापान लगायतका केही मुलुकहरुले हुवावेलाई प्रतिबन्धनै लगाइसकेका छन् । भारतले भने फाइभ–जीको रोलआउटमा हुवावेलाई प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा निर्णय गर्न बाँकिनै रहेको छ । बेलायत र स्पेनले भने हुवावेको प्रविधिको फाइभ–जी सुरु गरिसकेका छन् । यसै साता ब्राजिलले चिनियाँ कम्पनीलाई नरोक्ने बताइसकेको छ ।