एजेन्सी
बुधवार, असार ४, २०७६
3755

बेइजिङ -चीनले अमेरिकासँग आफु लामो अवधिको व्यापार युद्ध लड्नका लागि तयार भएको जनाएको छ । चीनले सम्भव भए सम्म चाडो आफ्नो रेयर अर्थ उद्योगको नीतिहरुको संगालो सार्वजनिक गर्ने जनाएको छ । व्यापार युद्धको समयमा प्राकृतिक स्रोतलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने चेतावनीपछिको समयमा चीनको यस्तो भनाई सार्वजनिक भएको हो ।
बेइजिङको नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनले आफुले सम्भावित नीतिका लागि धारणा माग गर्न उद्योग विज्ञ, प्रमुख कम्पनी र क्षेत्रिय अधिकारीसँग कुराकान गरेको जनाएको छ ।

बैठकको समयमा विज्ञहरुले आयोगलाई रेयर अर्थको निर्यातमा नियन्त्रण गर्नका लागि आग्रह गरेका थिए । १७ तत्वहरुको समिश्रणको यो पदार्थ स्मार्टफोन, हस्पिटल स्क्यानर, परमाणु उर्जा स्टेसन र एलईडी लाईटका लागि प्रयोग हुन्छ ।
हिजोमात्र कम्यूनिस्ट पार्टि अफ चाइनाले आधिकारिक जर्नलमा आफु अमेरिकासँग दीर्घकालिन व्यापार युद्ध लड्नका लागि तयार भएको जनाएको थियो ।
अमेरिकामा आयात हुने रेयर अर्थमा २०१४ देखि २०१७ सम्मको अवधिमा चीनको हिस्सा ८० प्रतिशत रहेको थियो ।
बेइजिङले अमेरिकी कम्पनीहरुलाई यो खनिजको बिक्रीमा प्रतिबन्ध लगाउने संकेत दिएपछि वासिङटनले चीनमाथिको निर्भरता कम गर्ने उपायको खोजी गर्न थालिसकेको दावी गरेको थियो ।
ट्रम्प प्रशासनले चिनियाँ दुर सञ्चार कम्पनी हुवावेमाथि अमेरिकी कम्पनीबाट पार्टस र प्रविधि खरिद गर्न रोक लगाएपछि रेयर अर्थलाई हतियारको रुपमा प्रयोग गर्ने विषय चर्चामा आएको हो ।
चीनको नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका प्रवक्ताले देशको रणनीतिक स्रोत भएका कारण प्रस्तावित नीतिले रेयर अर्थको प्रयोग र प्रबद्र्धनमा विशेष मूल्य राख्ने बताएका छन् ।