एजेन्सी
मंगलबार, जेठ ७, २०७६
883

विश्वकै धनी तथा अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो पिता माइक बेजोसको संघर्षको कहानी बताएका छन् । आफ्नो पिता १६ वर्षको उमेरमा क्यूबाबाट एक्लै अमेरिका आएको जेफले बताएका छन् । १९६२ मा पिता अमेरिका आएको समयमा उनी स्पेनिस बोल्थे । उनलाई अंग्रेजी थोर मात्रै आउँथ्यो । तर, यस किसिमको समस्याले उनलाई रोकेन । उनको हिम्मत, दृढ निश्चय तथा आशावादी अवस्थालाई प्रेरणादायी रूपमा लिन सकिन्छ ।
उक्त समयको कल्पना पनि गर्न मुस्किल भएको जेफ बताउँछन् । पिता तीनवटा सर्ट र तीनवटा पाइन्ट लिएर अमेरिका आएका थिए । उनका परिवारले फिडेल क्यास्ट्रोको शासनबाट सुरक्षित महसुस गर्नका लागि उनलाई अमेरिका पठाएका थिए ।
जेफ बेजोसले पिताको भिडियो सेयर गरेर भनेका छन्, “मानिस कसरी साथ आएर एक–अर्कालाई सहयोग गर्छन् ।” स्ट्याचु अफ लिबर्टीको नयाँ म्युजियमको उद्घाटनका समयमा बेजोसले यो भिडियो सार्वजनिक गरेका हुन् । १५ मेमा म्युजियमको उद्घाटन उत्सवको समयमा जेफ बेजोसका पितालाई लिबर्टी स्टारको सम्मान दिइएको थियो ।