एजेन्सी
मंगलबार, जेठ ७, २०७६
1035

हुवावेलाई दिँदै आएको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम रोक्ने गुगलको कदमले स्मार्टफोनमा विश्वकै पहिलो बन्ने चिनियाँ कम्पनीको महत्वाकांक्षामा ठूलो धक्का लागेको छ ।
अमेरिकी प्रविधि कम्पनीले हवावेसँगको व्यावसायिक गतिविधि रद्द गरेको छ । यसमा हार्डवेयर, सफ्टवेयर र प्रमुख प्राविधिक सेवाहरू रहेका छन् । वासिङ्टनले हुवावेलाई प्रतिबन्धित सूचीमा राखेपछि यसको पालना गर्नका लागि गुगलले यस्तो निर्णय गरेको हो । इन्टिटी लिस्का अनुसार चिनियाँ फर्मलाई आफ्नो उत्पादन बिक्री गर्नका लागि अमेरिकी फर्मले अनुमति लिनुपर्नेछ ।

यसको अर्थ हुवावेले अब लामो समयसम्म गुगलको एन्ड्रोइड अपरेटिङ प्रणाली प्रयोग गर्न पाउने छैन । यसको सट्टा हुवावेले एन्ड्रोइड ओपन सोर्स प्रोजेक्टको माध्यमबाट सार्वजनिक भर्सनको गुगलको अपरेटिङ सिस्टम प्रयोग गर्न पाउनेछ । यसको अर्थ हुवावेको आगामी फोनमा गुगलको सेवाहरू समावेश हुने छैनन्, जसलाई प्रयोगकर्ताले एन्ड्रोइड फोनहरूमा अपेक्षा गरेका हुन्छन् ।
“हामी आदेश र समीक्षात्मक समस्याबाट बाध्य भएका छौ,” गुगलका प्रवक्ताले बताए । “हाम्रो सेवाका प्रयोगकर्ताहरूका लागि गुगल प्ले र गुग प्ले प्रोटेक्टबाट सुरक्षाको संरक्षण प्रदान हुनेछ र भइरहेका हुवावेका फोनहरूले काम गर्नेछन्,” उनले बताए ।
यो विषयमा हुवावेले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
यो चिनियाँ फर्मका लागि ठूलो धक्का हुनेछ, जुन चीन बाहिर स्मार्टफोन बिक्रीका लागि ठूलो मात्रामा एन्ड्रोइडमा निर्भर रहँदै आएको छ । चीनभित्र कम्पनीले एन्ड्रोइडको शंशोधित भर्सन प्रयोग गर्नेछ । तर, चीन बाहिरका बजारमा हुवावेको स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्दै आएको छ ।
यो वर्षको पहिलो त्रैमासमा मुख्य भूमि चीनबाहिरका अन्तर्राष्ट्रिय बजारमा ढुवानी भएका स्मार्टफोनको संख्या ४९ प्रतिशत रहेको क्यानालिसले जनाएको छ । पहिलो त्रैमासिक अवधिमा बजार हिस्साका आधारमा हुवावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन कम्पनी हो । कम्पनीले हालै मा २०२० सम्ममा विश्वकै ठूलो स्मार्टफोन कम्पनी हुने महत्वाकांक्षा पालेको थियो । तर, गुगलको पछिल्लो कदमले यसमा पानी हालेको छ ।