Logo

बोइङले मार्चदेखि एउटै अर्डर पाएन

वासिङ्टन-बोइङले पहिलो त्रैमासिक अवधिमा आफ्नो विमानको अर्डरमा आधाले कमी आएको जनाएको छ । दुई ठूला दुर्घटनापछि कम्पनीको सर्वाधिक बिक्री हुने विमान ७३७ म्याक्सको सेवा विश्वभर बन्द गरिएको छ । गत वर्षको पहिलो त्रैमासमा १ सय ८० विमानको अर्डर पाएकोमा यस वर्षको पहिलो त्रैमासमा ९५ अर्डर मात्रै पाएको छ । मार्चमा कम्पनीले एउटा पनि अर्डर पाएको छैन । बोइङ इतिहासमै सर्वाधिक खराब अवस्थाबाट गुज्रिरहेको छ । फेब्रुअरीमा २६ म्याक्सको डेलिभरी भएकोमा मार्च महिनामा ११ म्याक्सको मात्रै डेलिभरी भएको छ ।
बोइङको डेलिभरी इथियोपिया विमान दुर्घटनाबाट प्रभावित भएको छ । इथियोपियाली विमान १० मार्चमा दुर्घटना भएको थियो, जसमा विमानमा सवार सबै १ सय ५७ मानिसको मृत्यु भएको थियो ।
७३७ म्याक्स बोइङको सबैभन्दा नयाँ मोडल हो । यो विमानको दुर्घटनाको कारण कम्पनीले यो विमान विकसित गर्ने समयमा गरेको हतारलाई मानिएको छ । एक विदेशी अखबारले विमान निर्माता कम्पनी बोइङले एयरबससँगको कडा प्रतिस्पर्धाका कारण बोइङले हतारमा विमान बनाएको उल्लेख गरेको छ ।
न्युयोर्क टाइम्सको समाचार अनुसार २०११ मा बोइङको सबैभन्दा ठूलो ग्राहक अमेरिकी एयरलायन्सले उसको प्रतिद्वन्द्वी एयरबसको सयौं नयाँ इन्धन सक्षम विमानको अर्डर दिने तयारी गरेको थियो । यसले बोइङलाई ठूलै झट्का लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्