दीननाथ बराल
बिहिवार, असार २५, २०७७
567

पोखरा-कर्जा भुक्तान गर्न ताकेता गरी मानसिक तनाव दिएमा पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई ताला चाबी बुझाउने चेतावनी दिएका छन् । पोखरा पर्यटन परिषदले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन गरेर कोरोना भाइरसको कारण देशमा लकडाउन जारी रहँदा अहिलेको अवस्थामा व्यवसायीहरुले बैंकको व्याज तथा सावाँ तिर्न नसक्ने बताए । उनले होटल व्यवसाय सञ्चालन हुन नसकेको अवस्थामा ऋण तथा ब्याज भुक्तानीका लागि ताकेता गरेर मानसिक तनाव दिए ताला चाबी बुझाउने चेतावनी दिए ।
कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको बताएका परिषद अध्यक्ष चिरञ्जीवी पोखरोलले व्यवसायिक प्रवद्र्धन हुने गरी कर्जा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । पुर्नकर्जाको सुविधा पर्यटन क्षेत्रका होटल, रेष्टुराँ, ट्राभल, टे«किङ, सहासिक गतिविधि, पर्यटन सवारीलगायत अन्य पर्यटनसँग सम्बन्धित व्यवसायीलाई समेत सरल र सहज रुपमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन परिषद्ले सरकारसँग माग गरेको छ ।

गण्डकी प्रदेश सरकारबाट विनियोजित १ अर्बको व्यावसायिक जीवन रक्षा कोषको अधिकतम् रकम पर्यटन क्षेत्रमा विनियोजित गर्न पनि माग गरिएको छ । सो कोषबाट साना, मझौला र ठूला पर्यटन व्यवसायी सबैले समानुपातिक ढंगबाट लाभान्वित गराउन ५ प्रतिशत व्याजदरमा बढीमा १० लाखको थ्रेस होल्ड कायम गरी आवश्यक प्रक्रिया मिलाउन पनि माग गरिएको अध्यक्ष पोखरेलले जनाए ।
चालू आर्थिक बर्ष सकिन लागेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले सावाँ व्याजसहित केहीले ऋण चुक्ता गर्न ताकेता गरेकोले आफूहरुलाई कम्तिमा दुई वर्षको म्याद थप गर्नुपर्ने उनले जनाए । व्यवसाय नै नभएको अवस्थामा आफूहरुले कुनै श्रोतबाट कर्जा तथा सावाँ व्याज तिर्न नक्ने अवस्थामा पुगेको अध्यक्ष पोखरेलले बताए ।
कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्र उकास्न पोखराका पर्यटन व्यवसायीले सरकार समक्ष विभिन्न माग राख्दै नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पर्यटनलाई प्राथमिकता दिन माग गरेका छन् ।
हरेक बैंकले कम्तिमा निश्चित प्रतिशत ऋण सहुलियत व्याज दरमा पर्यटनमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकसँग अनुरोध गर्दै व्यवसायीहरुले पोखराको पर्यटन क्षेत्रमा करिब ७५ अर्ब रुपैयाँ बराबरको बैंक तथा वित्तीय संस्थाको लगानी रहेको दाबी गरे ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका अधिकांश व्यवसाय आर्थिक समस्या भएको दाबी गरे ।
यस्तै, कोरोना महामारीबाट प्रभावित व्यवसायलाई छुट्टाइएको १ खर्बको पुर्नकर्जा कोष र ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन कोषको उपयोग पूर्णरुपमा समानुपातिक र सरलीकृत हुनुपर्ने भन्दै व्यवसायीले पोखरामा पर्यटनको अधिकतम् लगानी भने यस क्षेत्र (गण्डकी प्रदेश) मै हुनु पर्ने दावी गरे । पर्यटन व्यवसायको लागि सो सुविधाको समयावधि न्यूनतम् ३ वर्षका हुनुपर्ने व्यवसायीको माग छ । अहिलेको अवस्थामा आगामी दुई वर्षसम्म कोरोनाको कारण पर्यटन क्षेत्रको प्रवद्र्धन नहुने उपाध्यक्ष भट्टराईले जनाए ।
परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले मजदुर तथा कर्मचारी टिकाइराख्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताए । उनले राज्यबाट २५ प्रतिशत, निजी क्षेत्रबाट २५ प्रतिशत बेहोर्ने गरी बाँकी ५० प्रतिशत कर्मचारी तथा मजदुरबाटै तलब सुविधा छोड्ने गरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
उनले सरकार र निजी क्षेत्रले कोभिडविरुद्ध बच्न र बचाउन स्पष्ट नीति ल्याउन नसकेको टिप्पणी गरे । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले संस्था नविकरणको समेत म्याद थप गर्नुपर्ने माग गरे ।