कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
450

सोलुखुम्बुमा तत्कालीन जिल्ला विकास समितिलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको करिब २१ करोड रुपैयाँ चार वर्षदेखि थन्किएको छ ।
कार्यविधिको अभाव र सरकारले जिल्ला समन्वय समितिलाई खर्च गर्ने अधिकार नदिँदा पर्यटन रोयल्टी बापतको करिब २१ करोड ४ वर्षदेखि थन्किएको हो ।

सोलुखुम्बुले आर्थिक वर्ष २०७२-०७३ मा रोयल्टी बापत ४० करोड भन्दा बढी बजेट पाएको थियो । जसमध्ये तत्कालीन जिविसले आधाभन्दा बढी रकमपनि खर्च गरेको थिएन । पर्यटन रोयल्टी बापत जिल्लालाई प्राप्त करोडौं  रोयल्टी खर्चविहीन बनेर जिल्ला समन्वय समितिको खातामा थन्किएको हो ।
तत्कालीन जिल्ला विकास समितिले विभिन्न विकासका योजनामा रोयल्टीको रकम विनियोजन गरेर खर्च गर्दै आएको थियो । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईका अनुसार यस वर्ष पर्यटन मन्त्रालयले उक्त बजेट खर्च गर्ने कार्याविधि पठाएकाले कार्यविधिका आधारमा बजेट बाडँफाड गर्ने बताए । स्थानीय सरकार प्रमुखसँगको छलफलपछि रोयल्टी गाउँपालिका तथा वडाको प्रशासनिक भवन निर्माणमा खर्च गरिने राईको भनाई छ । सगरमाथालगायतका हिमालको दस्तुर बापत जिल्लाले पाएको पर्यटन रोयल्टी संघीय संरचना कार्यान्वयन पश्चात् खर्च गर्ने विधिको अन्यौलताका कारण खातामा थन्किएको जनाइएको छ ।