प्रगति ढकाल
बिहिवार, असार २५, २०७७
616

सात अर्ब रुपैयाँभन्दा बढी लागतको प्रकृतिमा आधारित पर्यटन परियोजना स्वीकृतिका लागि अन्तिम चरण पुगेको छ । कम पर्यटक आगमन हुने संरक्षित क्षेत्रहरूमा प्रकृतिमा आधारित पर्यटकीय पूर्वाधार विकास गर्न ७ अर्बको परियोजना सञ्चालन हुन लागेको हो । सात महिनाअघि नै परियोजाना स्वीकृत हुने भनिए पनि विभिन्न प्राविधिक कारणले तोकिएको समयमा स्वीकृत हुन नसकेको वन मन्त्रालयको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७७-७८ भित्र नै परियोजना सञ्चालन भइसक्ने छ । परियोजना सञ्चालनका लागि विश्व बैंकले ऋणस्वरूप रकम उपलब्ध गराउन लागेको हो । आयोजनाका लागि विश्व बैंकले उपलब्ध गराउने ७ करोड अमेरिकी डलरमये ९० लाख डलर पर्यटन मन्त्रालयमार्फत र ६ करोड १० लाख डलर वन तथा वातावरण मन्त्रालयमार्फत खर्च गरिने वन मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले परियोजना स्वकृतिको अन्तिम चरणमा रहेको जानकारी गराउँदै आगामी आर्थिक वर्षदेखि परियोजना अन्तर्गत कार्यक्रमहरू सञ्चालन गरिने बताए । संरक्षित क्षेत्रहरूमा पर्यापर्यटन विकासका लागि परियोजना पनि सञ्चालन गर्ने सरकारको लक्ष्य छ । परियोजना सञ्चालन भएपछि पर्यटन विकास हुने र यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिनसक्ने भन्दै ऋण लिएर परियोजना सञ्चालन गरिँदैछ ।
वन तथा वातावरण मन्त्रालयले केही संरक्षित क्षेत्रहरूमा पर्यटक आगमन निकै नै कम भएको भन्दै अब पर्यापर्यटन विकास गर्न परियोजना सञ्चालन भएको जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता ढुंगानाले प्रकृतिमा आधारित पर्यटन परियोजनालाई ७० मिलियन अमेरिकी डलर ऋण लिएर संरक्षित क्षेत्रमा पर्यापर्यटन विकासका कार्यक्रमहरू लागू गरिने बताए ।
“२० वटा संरक्षित क्षेत्रहरू छन्, सबै क्षेत्रहरूमा पर्यटक समान रुपमा भ्रमण गर्न आएका छैनन्, जहाँ पर्यटकहरू कम भ्रमण गर्छन्, त्यस्ता निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा अब पर्यटन विकास गर्ने लक्ष्य लिइएको छ,” उनले भने, “ऋण लिएर आयोजना सञ्चालन गर्न लागेका हौं, अन्तिम तयारीमा छ ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार संरक्षित क्षेत्रमध्ये सबैभन्दा कम पर्यटक आउने क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज हो । आव २०७३-७४ मा बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ४ थियो । आव २०७४-७५ एकजना विदेशी पर्यटकले मात्र भ्रमण गरेको तथ्यांकपछि सरकारले सबै संरक्षित क्षेत्रहरूमा पर्यटकीय विकासको प्रभावकारी काम गर्न नसकेको देखिन्छ । खप्तड राष्ट्रिय निकुञ्जको तथ्यांक हेर्दा पनि पर्यटक संख्या निकै नै कम देखिन्छ ।
आव २०७१-७२ मा २ जना, आव २०७२-७३ मा २१ जना आव २०७३-७४ मा २६ जना र आव २०७४-७५ मा २१ जना पर्यटकले खप्तड राष्ट्रिय निकुञ्जको भ्रमण गरेको विभागको तथ्यांकमा उल्लेख छ । आव २०७४-७५ मा चितवन राष्ट्रिय निकुञ्जमा करिब १ लाख ३९ हजार पर्यटकले भ्रमण गर्दा बाँकेमा १ तथा खप्तड राष्ट्रिय निकुञ्जमा २१ जना पर्यटकहरूको मात्रै उपस्थिति भएको देखिन्छ । अपिनाम्पा संरक्षण क्षेत्रमा आव २०७४-७५ मा १९ जना पर्यटकले भ्रमण गरेका छन् । पछि घोषणा भएको राष्ट्रिय निकुञ्जहरू प्रचारप्रसारको अभावका कारण पर्यटकीय आगमन कम भएको हो ।