कारोबार संवाददाता
मंगलबार, असार २३, २०७७
1185

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका तीनजना पाइलटसहित सात जना चालक दलका सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएको छ । यस्तै, निगमका थप ९ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । निगम स्रोतले दिएको जानकारी अनुसार सोमबार कुल १६ जना चालक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
निगमले उद्धार उडानमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदा अपनाउँदै चालक दलका सदस्यहरूमा कारोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । उडान कार्यमा संलग्न चालकदलसहित अन्य क्याबिन क्रुहरूलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सहितका सामग्री उपलब्ध गराउनुका साथै अन्य आवश्यक सुरक्षा पनि व्यवस्था गरिँदै आवश्यक निर्धारित मापदण्डअनुसार जिम्मेवारी पूरा गर्दै आएकोे निगमले जनाएको छ ।
उडानमा संलन चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीहरूलाई नियमानुसार निर्धारित समयसम्म होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ । आफ्ना निर्धारित तालिकाअनुसार उडानहरू गरेपश्चात होटल क्वारेन्टाइनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा परीक्षणको क्रममा ७ जना चालकदलमा कोरोना पुष्टि भएको छ । अन्य ७ जना सम्भावित क्रु सदस्यहरूलाई पुष्टि हुन बाँकी नै छ । उहाँहरूको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको छ र अझ थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडानहरू यथावत सञ्चालन भइरहने निगमले जारी गरेको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
उडान भरेका चालक दलका सदस्यमा पीसीआर परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र घर पठाउने गरेको छ । निगमले उद्धार उडानमा सहभागी भएका चालकदलका सदस्यलाई होटल सोल्टीको क्वारेन्टाइनमा राख्दै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डडयन मन्त्री योगेश भट्टराईले समाजिक संजाल मार्फत संकटको यो समयमा उद्धार उडानमा चालकदलले गरेको कामको उच्च प्रशंसा गर्दै संक्रमितहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यता, सोमबार काठमाडौं उपत्यकामा ५४ जनासहित पछिल्लो २४ घण्टामा मुलुकभर १८० जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ प्रेस ब्रिफिङ मार्फत जनाएको छ । सोमवार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा नयाँ कारेनोना संक्रमित फेला परेको जनाएको हो । थपिएको १८० संक्रमित सहित नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

होटल सिल गरियो
महानगरीय प्रहरी वृत्त कालिमाटीले होटल सोल्टी सिल गरेको छ । ताहाचलमा रहेको होटल सोल्टीमा क्वारेन्टिनमा राखिएका निगमका चालकदलमा कोरोना संक्रमण देखिएसँगै होटल सिल गरेको हो । प्रहरी वृत्त कालिमाटीका प्रमुख रुगम कुँवरले निमगका चालक दलका सदस्यहरू मात्र बसदैं आएका होटल पहिले नै सिल जस्तै थियो थप सुरक्षा अपनाएर सिल गरिएको बताए । उनले भने, “संक्रमितलाई होटलले प्रिन्सेफ बिल्डिङको पाँचौ तल्लामा आइसोलेसनमा राखिएको छ, अन्य करिब ५५ जनालाई अरु सोही बिल्डिङको तल राखिएको छ ।” कोरोना संक्रमित देखिएका सबै सदस्यमा कुनै प्रकारको कोरोनाभाइरसको लक्षण भने नदेखिएको प्रमुख कुँवरको भनाइ छ ।