कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
745

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवामा लगाएको प्रतिबन्ध थप गरेको छ । जसअनुसरा व्यावसायिक हवाई सेवाको उडान तथा अवतरणमा असार २१ गते गतेसम्म गरिएको रोकलाई थप गरेर साउन ६ गतेसम्म पु-याइएको छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायीक उडानमा लगाएको प्रतिबन्ध थप गरी २०७७ सालको साउन ६ गतेसम्म कायम रहने निर्णय गरेको हो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार हाललाई अन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्ध साउन ६ गतेसम्म रहने निर्णय भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम गर्न नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय हवाई चैत ९ देखि १८ गतेसम्म सेवामा प्रतिबन्ध लगाउने बताएका थिए । त्यस पछि सरकारले उडानमा समय थप गर्दै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउँदै आएको छ । सरकारको निर्देशन निर्णय कार्यान्वयन गर्दै हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ९ गते आइतबार (राति ११ः५९) देखि १० दिनसम्मका लागि नेपाल प्रवेश गर्न सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । आन्तरिक उडानमा भने सरकरले चैत ११ गतेदेखि १८ गतेसम्म रोक लगाएको थियो । नेपालको हवाई सेवामा ७ दशकको इतिहासमा व्यावसायिक उडानका सबै प्रकारको हवाई उडान प्रतिबन्ध लगाइएको पहिलो पटक हो । नेपालको भूभागमा २००६ सालमा एक इन्जिनको विमान बाराको सिमरामा ल्यान्ड गरेकोबाट नेपालको हवाई सेवाको इतिहास सुरु भएको इतिहास छ भने २००७ सालमा भारतबाट अर्को विमान आएको र २००८ बाट नेपालबाट नियमित सेवा सुरु भएकोे इतिहास छ ।
नेपालले ४० देशसँग सीधा हवाई सेवा सम्झौता गरेको छ भने ३ वटा स्वदेशी हवाई सेवा कम्पनीसहित ३० अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपालमा उडान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको थियो । यस्तै, आन्तरिकतर्फ २० निजी हवाई कम्पनीले नेपालमा उडानमा भरिरहेका छन् । जसमा रोटर–१० र फिक्सड विङ–१० हवाई सेवा कम्पनी छन् । सामान्य समयमा विमानस्थलबाट दैनिक ४ सयको हाराहारीमा उडान अवतरण हुँदै आएका थिए ।