दीपेन्द्र थापा
बिहिवार, जेठ २२, २०७७
602

सरकारले जारी गर्न लागेको नयाँ पर्यटन ऐनमा पर्यटकको परिभाषाप्रति असन्तुष्टि जनाउँदै पर्यटन क्षेत्रका छाता संगठनहरूले यसलाई सच्याउन माग गरेका छन् । सरकारले पर्यटन क्षेत्रका छाता संगठनसँग छलफल गरी ऐन ल्याउनुपर्ने र पर्यटकको परिभाषाका सम्बन्धमा सरकारको गलत बुझाईलाई सच्याउनुपर्ने उनीहरूको माग छ । सरकारले पर्यटन क्षेत्रसँग सहकार्य र समन्वय गरेर पर्याप्त छलफलपछि सबै सरोकारवालाको सहमतिमा ऐन ल्याउनुपर्नेमा हतार गरिएको उनीहरूको आरोप छ ।
यसरी हतारमा ल्याउन लागिएको ऐन पर्यटनसँग सरकोकार राख्ने संंस्थाहरूलाई मान्य नहुने उनीहरूले चेतावनी दिएका छन् । मंगलबार पर्यटन सम्बद्ध सरोकारवाला संस्थाहरूको बैठकले सरकारले जारी गर्न लागेको पर्यटन ऐन छलफल नगरी जारी गर्न लागेकोमा आपत्ति जनाएका हुन् । संयुक्त छलफलपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “पर्यटन क्षेत्रका छाता संगठनसँग छलफल तथा परामर्श नगरी एकलौटी ढंगबाट पर्यटन ऐन ल्याएमा सो ऐन मान्य हुँदैन ।”

पर्यटन क्षेत्रका प्रतिनिधि संस्थाहरूले सरोकारवाला निकायहरूको माग तथा दिएका सुझावलाई समेटर नयाँ पर्यटन ऐन जारी गर्नु पर्नेमा जोड दिएका छन् । पर्यटनसँग सरोकार राख्ने एक दर्जन संस्थाले प्रस्तावित ऐनमा सरोकारवाल निकायका सुझावलाई समेट्न संयुक्तरुपमा अपिल समेत गरेका छन् । विगतमा सरकारलाई सबै निकायले ऐन समावेश गर्नका लागि संशोधन गर्न दिएको सुझावलाई समावेश गरी ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
पर्यटन ऐन बन्न लागेकोले बृहत छलफल गरेको र एक हप्ताभित्र सुझाव समेटर सरकारलाई दिने निर्णय भएको बैंठकमा सहभागी हानका महासचिव साजन शाक्यले बताए । मस्यौदा ऐनमाथि सबै संघसंस्थाहरूको सुझाव तयार गर्न खडानन्द ढकाललाई नियुक्त गरिएको छ । सरकारसँगको विगतमा भएको बैंठकमा पुनः सबै प्रतिनिधिमूलक संस्था बसेर गहन छलफल गरी जारी गर्ने निर्णय भएकोमा सरकारले एकलौटी जारी गर्न लागेकामा ध्यानाकर्षण गरिएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरगाईले बताए । उनले भने, “पर्यटनमन्त्री, सचिव, सरोकारवाला निकायसँगको छलफलपछि ऐन आउनुपर्छ, पर्यटकको परिभाषा एक ठाउँबाट अर्का ठाउँमा जाने नागरिकलाई पर्यटक भनिनु पर्नेमा, विभिन्न सर्त राखिदिएको छ ।” निजी क्षेत्रसँग छलफल तथा सहकार्य नगरी ल्याइएकाले आफूहरूको असहमति रहेको र सरकारले निजी क्षेत्रसँग छलफल नगरी ल्याउन नहुने गुरागाइँले बताए । उनले ऐनमा पर्यटन र पर्यटकको परिभाषा नै फरक परेकाले त्यसमा पनि संशोधन गरिनुपर्ने बताए ।
“कुनै पनि मानिस एक ठाउँबाट अर्को ठाउँमा घुम्न जान्छ भने त्यो पर्यटक हो तर ऐनमा विदेशबाट आएको मानिस २४ घण्टापछि मात्रै पर्यटक हुने भन्ने परिभाषामा हाम्रो विमति छ,” उनले भने । यसो हुँदा आन्तरिक पर्यटकलाई सरकारले जोड नदिएको देखिन्छ त्यसैले हामीले सरकारलाई सुझाउदैं आएका छौं । यसो भएमा आन्तरिक पर्यटनमा पनि सघाउ पुग्ने विश्वास लिएको गुरागाईको भनाई छ । यसैगरी ट्राभल एजेन्सीहरूको वर्गीकरण यो समयमा ठिक नभएको र माग र आवश्यकताको आधारमा ऐन नियम आउनु पर्नेमा उनीहरूको जोड थियो । २०३५ सालमा जारी गरीको पर्यटन ऐन हालको समयसापेक्ष नभएको बताउँदै आएका व्यवसायीले गुनासो गर्दै आएका थिए । सो ऐन २०५३ सालमा संशोधन भएको थियो ।