प्रकाश लम्साल
बुधवार, जेठ २१, २०७७
611

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल 


बारा-चर्चामा रहेको बाराको निजगढस्थित राष्ट्रिय गौरवको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको बस्ती स्थानान्तरण र सडक निर्माण आगामी वर्षबाट सुरु हुने भएको छ ।

विवाद नभएका दुई कामलाई गति दिन सरकारले यस वर्षसमेत शीर्षकसहितको बजेट विनियोजन गरेपछि गति पाउने भएको हो । आयोजनाको प्रमुख बिन्दुको मुख्य काममै शीर्षक तोकिएर आगामी बजेट विनियोजित भएपछि आयोजनाले आउने आवसँगै काम थाल्ने जनाएको छ । आगामी आवमा निजगढ विमानस्थलको बस्ती स्थानान्तरण र पेरीफेरी निर्माणका लागि ५० करोड रुपैयाँ बजेट छुट्याएको छ भने चालू आवमा यस विमानस्थलका लागि सरकारले १ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सरकारले आव ०७१-७२ बाट बजेट राख्न सुरु गरेको यो आयोजनामा छुट्याउँदै आएको रकम हाल म्म २०स प्रतिशत पनि खर्च नभएको र नागरिक उडड्यन प्राधिकरणमा दुई अर्ब बढी आयोजनाको नाममा रकम छ । बजेटमा छुट्याइएको रकम अपुग भए पनि प्राधिकरणसँग रहेको रकमले काम थालिए दुवै शीर्षकका काम पूरा गर्न सकिने सिमरास्थित आयोजनाले जनाएको छ ।
अदालतले रुख काटन रोकेको हो, बस्ती सार्न, पेरीफेरी सडक बनाउन रोकेको छैन, सडकमा ३० करोड जति खर्च लागे पनि टाँगिया बस्ती स्थानान्तरणमा ढेड अर्ब जति रकम लाग्ने रकम प्राधिकरणको खातामा यसअघि नै थन्किएको आयोजनाका जानकार पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषाक्तम पौडेलले बताए । उनी भन्छन्, “सरकारले गौरवको योजना भने पनि काम गर्न निर्णय गर्ने आँट पहिलो कुरा हो, जुन सरकारले हिम्मत देखाएको छैन ।
२०५० सालदेखि नै निर्माणको चर्चा भएको यो आयोजनामा चारकिल्ला तोक्ने, वातावरणीय प्रभाव मूल्यांकन, मुआब्जा वितरणका काम सम्पन्न भएको छ भने पसाह खोलामा ड्याम लगाउने काम सुचारु छ ।
सरकार, प्राधिकरण, राजनीतिक दलका मुख्य नेता, सम्बन्धित मन्त्रीले चालू आवमै विमानस्थल निर्माण थाल्ने बताए पनि साइट क्लियरेन्सतर्फ रुख कटानमा विवाद बढेसँगै आयोजनाले कामको गति सुस्त बनाएको थियो । सोही क्षेत्रका पूर्व सांसदसमेत रहेका पूर्वमन्त्री पौडेलले रुखको कुरा छाडेर बस्ती स्थानान्तरणको काम थालिएको भए चालू आवमै सकिन्थ्यो कुनै अमुक शक्तिले किन रोक्छ अचम्ममा परेको उनको भनाइ छ ।
सरकारले आगामी आव ०७७-७८ मा राष्ट्रिय गौरवका हवाई पूर्वाधारका आयोजनामा प्राथमिकता दिने बताए पनि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतिका हिसाबले अगाडि छ भने बहुप्रतीक्षित निजगढ विमानस्थल भने सुस्त बनेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
वार्षिक ६ करोड यात्रुलाई सेवा दिनसक्ने लक्ष्य राखिएको निजगढ विमानस्थल आयोजना सञ्चालनपछि नेपाल भूपरिवेष्टित मुलुकको सूचीबाट हट्दै हवाई कार्गो र मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटने विज्ञहरूले बताउँदै आएका छन् ।