कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
594

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । सरकारले हवाई इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास कर हटाएपछि निगमले हवाई इन्धनको मूल्य घटाएको हो ।
निगमले शुक्रबारदेखि लागू हुने गरी आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटरमा ८२ डलरले मूल्य घटाएको निगमले जानकारी दिएको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले आन्तरिक र बाह्य हवाई इन्धनको मूल्य घटाइएको जानकारी दिए ।

डिजेल, पेट्रोल र मटितेलको मूल्य यथावत राखिएको छ । नयाँ मूल्यअनुसार आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कायम भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८ सय ६८ डलर कायम भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार विकास करबापत हवाई इन्धनमा लाग्दै आएको १० रुपैयाँ कर हटाएको बिहीबार घोषणा गरेका थिए । कोरोना संक्रमणका कारण समस्यामा परेको हवाई उड्डयन क्षेत्रलाई राहत दिने बजेटमार्फत हवाई इन्धनमा लाग्ने पूर्वाधार शुल्क हटाएको हो । यसअघि निगमले पूर्वाधार विकास करमार्फत मासिक १० देखि १५ करोड रुपैयाँ संकलन गर्दै आएको थियो ।
कोरोना भाइरसको संक्रम नियन्त्रण गर्नका लागि लकडाउनका कारण हवाई यातायात बन्द गरेपछि हवाई इन्धनको खपत हुन सकेको छैन ।