दीपेन्द्र थापा
शुक्रवार, जेठ १६, २०७७
611

सरकारले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पर्यटन क्षेत्रको पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिएको बताएका छन् । यस्तै सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गरिने बजेटमा उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा मन्त्री खतिवडाले पर्यटन क्षेत्र पूर्वाधारका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेका थिए ।
कोरोनाका कारण प्रभावित भएको पर्यटन उद्योगलाई चलयमान बनाउनका लागि सरकारले आन्तरिक पर्यटनमा जोड लिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले भने, “आन्तरिक पर्यटन प्रर्वद्धन गरी सिथिल पर्यटन क्षेत्रलाई पुर्नजागरित गर्न कोरोनाको जोखिमा न्यूनिकरण भएसँगै राष्ट्र सेवक, संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने छ ।” कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनले बचाई राख्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै सरकारले माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने पनि बजेटमा भनिएको छ ।

त्यस्तै सरकारले आगामी बजेटमा पर्यटन क्षेत्रको सुधारका लागि र सेवा शुल्कमा छुट गरिएको छ । एक प्रदेश, एक पर्यटन, गन्तव्यको अवधारण अनुरुप सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकास गरिनेछ । निजी क्षेत्रको सहभागितामा हिमाली, पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरी पर्यटक आर्कषण गर्ने मौलिक संस्कृतिको विकास प्रवद्धन गर्न पर्यटन पूर्वाधारका लागि १ अर्ब २६ करोड बजेट विनियोजन बजेट प्रस्तुत गर्दा मन्त्री खतिवडाले बताएका छन् ।
कोरोना संक्रमण जोखिम नियन्त्रण हुन साथ पर्यटन क्षेत्रलाई तीव्र रुपमा पुर्नस्थापना गर्न पर्वतीय कृषि ग्रामिण जल यातायात सांस्कृतिक जल यातायात मनोरञ्जन खेल, स्वाथ्य तथा पर्या–पर्यटन तथा नयाँ पर्यटकीय सेवा आवश्यक पूर्वाधारको विकास गरिने बजेटमा भनिएको छ । पर्यटक आगमन, पदयात्रा पर्वतारोहण, हिमाल ओरोहण, पर्यटन उद्धारलाई थप व्यवस्थित बनाउन नवीन पर्यटन सूचना व्यवस्थापन प्रणाली विकास गरिने बजेटमा भनिएको छ ।
पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न पर्यटन विश्व विद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने मन्त्री खतिवडाको वक्तव्यमा उल्लेख छ । पशुपति, जनकपुर, मुक्तिनाथ सहित अन्य मठ मन्दिर गुम्बा धार्मिक, ताल तलैया तथा पर्यटकीय क्षेत्रका विकास कार्यक्रमलाई निरन्तरता दिइने भनेर सरकारले विगतका कार्यक्रमलाई निन्तरता दिएको छ । नेपाल एकीकरण र इतिहाससँग जोडएका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भनिएको छ । रारा ताल क्षेत्रको विकासका लागि गुरु योजना विकास गरी कार्यान्वयन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
पहाडी र हिमाली सम्भाव्य पर्यटन क्षेत्रका स्थललाई सुविधायुक्त हिल स्टेसनको रुपमा विकास गर्न पूर्वाधार विकास गरी पर्यटन प्रवद्धन गरिने मन्त्री खतिवडाले बताए । प्रकृतिमा आधारित पर्यटन गन्तव्यको विकास र रात्रिकालीन सांस्कृतिक सम्पदाको भ्रमणलाई भक्तपुरबाट विस्तार गरी अन्य सम्पदाको विकासमा समेत निरन्तरता दिने सरकारले बजेटमार्फत सम्बोधन गरेको छ । सरकाले चालू आर्थिक वर्षकै कार्यक्रमअन्र्तगत काठमाडौंमा रात्रिकालीन उपत्यका सम्पदा यात्रालाई विस्तार गर्ने आगामी बजेटको योजना रहेको छ ।