दीपेन्द्र थापा
बुधवार, चैत्र २६, २०७६
1009

आन्तरिकमा पछि निर्णय गरिने
सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा लगाएको प्रतिबन्ध थप गरेको छ । सरकारले अन्तर्राष्ट्रिय हवाई सेवाको उडान अवतरणमा वैशाख ३ गतेसम्मका लागि रोकलाई थप गरेर वैशाख १८ सम्म रोक लगाउने निर्णय गरेको छ । आइतबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरी समन्य समितिको मंगलबार बसेको बैठकले हाल कायम रहेको अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप २०७७ सालको वैशाख १८ गतेसम्म कायम रहने निर्णय गरेको हो ।

बैठकमा भएको निर्णयहरू सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले हवाई सेवा वैशाख ३ गतेसम्मको प्रतिबन्धलाई थप लम्ब्याउने निर्णय भएको जानकारी दिए । उनले भने, “हवाई सेवाको उडानमा अप्रिल ३० तारिखसम्म प्रतिबन्ध लगाउने निर्णय गरेका छौं,आन्तरिक उडानमा भनेपछि छलफल गरेर निर्णय गरिनेछ, आन्तरिक उडानको ठूंगो लगाने छौं ।”
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम गर्न नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय हवाई चैत ९ देखि १८ गतेसम्म सेवामा प्रतिबन्ध लगाउने बताएका थिए । समितिले प्रतिबन्ध थप गरेर वैशाख ३ गतेसम्म थप गरेको थियो ।
सरकारको निर्देशन निर्णय कार्यान्वयन गर्दै हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत ९ गते आइतबार (राति ११ः५९) देखि १० दिनसम्मका लागि नेपाल प्रवेश गर्न सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । आन्तरिक उडानमा भने सरकरले चैत ११ गतेदेखि १८ गतेसम्म रोक लगाएको थियो । पछि आन्तरिक उडानमा पनि ३ वैशाखसम्म प्रतिबन्ध लगाएको थियो ।
प्राधिकरणका अनुसार सबै प्रकारको हवाई सेवा भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा नै प्रतिबन्ध भएको जनाएको थियो । नेपालको हवाई सेवामा ७ दशकको इतिहासमा व्यावसायिक उडानका सबै प्रकारको हवाई उडान प्रतिबन्ध लगाइएको पहिलो पटक हो । नेपालको भूभागमा २००६ सालमा एक इन्जिनको विमान बाराको सिमरामा ल्यान्ड गरेकोबाट नेपालको हवाई सेवाको इतिहास सुरु भएको इतिहास छ भने २००७ सालमा भारतबाट अर्को विमान आएको र २००८ बाट नेपालबाट नियमित सेवा सुरु भएकोे इतिहास छ ।
नेपालले ४० देशसँग सीधा हवाई सेवा सम्झौता गरेको छ भने ३ वटा स्वदेशी हवाई सेवा कम्पनीसहित ३० अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपालमा उडान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको थियो । यस्तै, आन्तरिकतर्फ २० निजी हवाई कम्पनीले नेपालमा उडानमा भरिरहेका छन् । जसमा रोटर–१० र फिक्सड विङ–१० हवाई सेवा कम्पनी छन् । विमानस्थलबाट दैनिक ४ सयको हाराहारीमा उडान अवतरण हुँदै आएका थिए ।

 


सातामा धेरै पढिएको