दीपेन्द्र थापा
शुक्रवार, चैत्र २१, २०७६
940

स्वदेश फिर्ता हुन चाहने पर्यटकले शुक्रबारसम्म काठमाडौं आइपुग्नु पर्ने भएको छ । नेपाल पर्यटन बोर्डले बुधबार एक सूचना जारी गरी स्वदेश फिर्ता हुन चाहने नेपालका विभिन्न ठाउँमा रहेका विदेशी नागरिक तथा पर्यटकले शुक्रबार मध्यरातसम्म काठमाडौंमा उपस्थित हुनु पर्ने भनेको छ । बोर्डले नेपालमा रहेका कुटनीतिक नियोगका नाममा ७ बुँदे सूचना जारी गरेको हो ।
बोर्डले सूचनामा भनेको छ, “तोकिएको समयमा स्वदेश फिर्ता हुन चाहने पर्यटक काठमाडौंमा नआए आगामी दिनमा नेपाल पर्यटन बोर्ड जिम्मेवार हुने छैन ।”
बोर्डले जिल्लाका प्रशासन कार्यलयमार्फत स्थानीय तहमा समन्वय गर्दै स्वदेश फर्कन चाहने पर्यटकलाई सहजीकरण गर्ने र सूचना प्रवाह गर्न अनुरोध गरेको छ । पर्यटकको उद्धार गर्नको लागि कुनै किसिमको पत्र कुटनीतिक नियोगहरुलाई आवश्यक नपर्ने समेत बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । यसरी स्वदेश फिर्ता हुन चाहने पर्यटकले यात्राको सेवा शुल्क स्वयमले व्यवस्थापन गर्नुपर्ने र यात्राको सहजीकरणका लागि स्थानीय प्रशसन कार्यालयसँग समन्वय गर्न पनि बोर्डले आग्रह गरेको छ ।
पर्यटकको उद्धार बोर्डको क्राइसिस रेस्पोन्स टिमले गर्दै आएको छ । बोर्डले तत्कालका लागि पर्यटकको उद्धार पूरा भएको यही चैत १७ गते नै जनाएको थियो ।
देशका विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई काठमाडौं ल्याएर स्वदेश फर्काइएको थियो भने स्वेच्छाले नेपालमै बस्नेहरु पनि सुरक्षित रहेको बोर्डले जनाएको छ
सूचनामा दुतावासलाई स्वदेश फिर्ता हुने नागरिकको विवरण परराष्ट्र, गृह र पर्यटन बार्डले उद्धारको सिफारिस अनुमोदन नगरेसम्म ती नागरिकको सम्पूर्ण विरण गोप्य राख्न समेत आग्रह गरेको छ । साथै ती नागरिकको विवरण काठमाडौं बसाइको सहजीकरण र व्यवस्थापन सम्बन्धित दुतावासले नै राख्न बोर्डले जनाएको छ । लकडाउनका कारण नेपालमा अलपत्र परेका पर्यटकहरुलाई बोर्डले सहजीकरण गर्दै १६ सय ५३ पर्यटकलाई उद्धार गरिसकेको बोर्डले जनाएको छ ।

 

लीला बानियाँ

निर्देशक, नेपाल पर्यटन बोर्ड
“कुटनीतिक नियोग र दुतावसहरुले नेपालमा रहेका नागरिकको उद्धारमा सहजिकरण गर्न गरेको आग्रहसँगै बोर्डले शुक्रबारको समयसीमा राखेर उद्धार गर्ने छ ।”

१ सय २२ नेदरल्याड नागरिक स्वदेश फिर्ता
नेदरल्याण्ड्सका नागरिक स्वदेश फिर्ता भएका छन् । बिहीवार १ सय २२ नेदरल्याण्ड्सका नागरिक लिएर काठमाडौंबाट मलेसिया एयरलाइन्सको विमान उडेको थियो । सो विमानले मलेसिया र फिलपिन्सिमा रहेका नागरिकलाई लिएर नेदरल्याण्ड्स अवतरण गर्ने नेपाल पर्यटन बोर्डका निर्देशक लीला बानियाँले बताए । उनका अनुसार अगामी हप्ता फ्रेन्च, जर्मन, अमेरिका र कोरियाका नागरिकलाई स्वदेश फिर्ता गराउने प्रकृयमा रहेको छ । ४ देशका नागरिक गरेर कुल १ हजार भन्दा बढि विदेशी स्वेश फिर्ता हुने छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेदरल्याण्ड्सका एक सय २२ जना यात्रु बोकेर जहाज युरोपका लागि उडेको हो । लकडाउनका कारण गन्तव्यमा पुग्न नसकेका नागरिकको बोर्डले दुतावाससँगको सहकार्यमा उद्धार गर्दै आएको छ । गत हप्ता सम्बन्धित दुतावासले जमर्न, फ्रान्स, अमेरिका, अस्ट्रेलियाका नागरिकलाई विमान चार्टर गरेर स्वदेश पठाएका थिए ।

बिहीबार अन्तर्राष्ट्रिय २ उडान
बिहीबार त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट ६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ २ र आन्तकिरमा ४ उडान भएको विमानस्थल कार्यालयको ब्रिफिङ शाखाले जनाएको छ । अन्तर्राष्ट्रियमा मलेसियन एयरलाइन्सले काठमाडौंबाट मलेसियाका लागि उडान भरेको थियो भने वायुसेवा निगमको विमानले चीनको ग्वान्जाओका लागि उडान भरेको थियो ।