कारोबार संवाददाता
बिहिवार, चैत्र २०, २०७६
632

भैरहवा-लुम्बिनी घुम्न आएर लकडाउनमा परेका आयरल्याण्डका नागरिक डिन मुर्लेको उद्धार गरी काठमाडौं पठाइएको छ । ५१ वर्षिय आयरल्यान्डका मुर्ले लुम्बिनी स्थित राहुल गेष्ट हाउसमा बिगत १० दिनदेखि बस्दै आएका थिए । बसाईकै क्रममा अचानक लक डाउन घोषणा भएपछि उनी काठमाडौ फर्कन पाएका थिएनन् ।
गेष्ट हाउसमा एक्लै बस्नु पर्दा र कोरोना भाइरसको त्रास र समाचारका कारण उनी मानसिक तनाबमा रहेका थिए । उनी त्यहाँ चिच्याउने जस्ता गतिविधि गरेको थाहा पाएपछि पर्यटन व्यवसायी प्रविण शाक्यले उनलाई काठमाडांै पठाउन पहल गरे ।

गेष्ट हाउसमा बस्दा डिप्रेशनको बिरामी भएको जस्तै व्यवहार देखाएपछि उनलाई काठमाडौं पठाउन आयरल्याण्डको काठमाडौं स्थित कन्सुलर कार्यालयमा सम्पर्क गरेको शाक्यले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लामा रहेका विदेशी पर्यटकहरुलाई दुतावास वा कन्सुलर कार्यालयको पत्रका आधारमा सिफारीस दिने गरीएको बताए । प्रजिअ पन्थले जिल्लामा अझै कति विदेशी पर्यटक छन् भन्ने यकिन नभएको बताउँदै लुम्बिनीमा अझै केही पर्यटक रहेको हुन सक्ने जनाए । उनीहरुले काठमाडौं जान चाहे दुतावाससँगको समन्वयमा सिफारिस गरिने बताए ।

 


सातामा धेरै पढिएको