दीपेन्द्र थापा
आइतवार, चैत्र ९, २०७६
1351

आइतबारदेखि सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारदेखि सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने बताएका हुन् ।
“नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ गते देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ,” उनले राष्ट्रको नाममा सम्बोधन गर्दै भने ।

सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र स्वास्थ्य सेवा, विमानस्थल, सञ्चार (टेलिफोन), पेट्रोलियम फोहोरमैला व्यवस्थापनलगायत पर्दछन् ।
सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिनुपर्ने पनि प्रधानमन्त्रीले बताए । उनले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
यस्तै संक्रमण रोक्न विश्वभर कोरानाको त्रास फैलिएपछि सरकारले संक्रमण बिस्तार हुन नदिन तथा रोकथाम गर्न अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको हो ।
नेपालमा करिब २ दर्जन अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान गर्दै आएका छन् । प्रधानमन्त्रीको निर्णयलाई कार्यान्वयनमा लैजाने बारेमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले छलफल गरिसकेकोे पनि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
यस्तै, सरकारले विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नागरिकहरुलाई सम्बन्धित देशमा रहेका नेपाली दुतावास मार्फत १४ दिन क्वारेन्टाइनमा राख्ने विषयमा पनि बैठकमा छलफल भएको भन्दै उनले अन्य नेपाली नागरिकलाई केहि समस्या भए दुतावासमा सम्पर्क राख्न प्रधानमन्त्रीले अनुरोध गरिसकेका पनि उनले बताए ।
सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध पनि लगाएको छ । साथै यी मुलुकबाट अन्य मुलुकलाई ट्रान्जिट बनाएर पनि यात्रु आउन नपाउने सरकारले जनाएको छ । सरकारले योसम्बन्धी परिपत्र विदेशी एयरलाइन्सहरूलाई पठाएको छ ।