कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
1350

कोरोना भाइरस महामारीका कारण विश्व पर्यटन बजारमा पर्यटकको संख्यामा आएको गिरावटबाट नेपालसमेत प्रभावित बनेको छ । नेपालको पर्यटन बजारलाई सबल बनाउन, ‘भ्रमण वर्ष–२०२०’ को राष्ट्रिय अभियानको बजारीकरणलाई प्रवद्र्धन गर्न तथा डिजिटल बजार र अनलाइन बुकिङको महत्वबारे होटल व्यवसायीलाई जानकार अनि जागरुक बनाउन एक्सलट्रिपले दुईधारे पहलकदमी थालेको छ । अनलाइन बुकिङको महत्वबारे होटल व्यवसायीलाई घरदैलो अभिमुखीकरण सँगसँगै एक्सलट्रिपले नेपालका आफ्ना सूचीकृत होटलका निम्ति घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटकको बढौतीका लागि ‘सोसियल मिडिया’ अभियानको रणनीति लिएको छ । यस्तो संकटको घडीमा एक्सलट्रिपले आफ्नो नवीनतम प्रविधियुक्त बुकिङ इन्जिनको उपयोगद्वारा विश्व पर्यटकीय बजारमा अवसर सिर्जना गर्न सकिने संभावनाबारे व्यवसायीबीच घनिभूत छलफल तथा अन्तक्र्रिया गरेको छ ।
यसै श्रृंखलाको एक कडीका रूपमा नेपालको पहिलो अनलाइन ट्राभल एग्रेगेटर (ओटिए) एक्सलट्रिप नेपालले चितवनको पर्यटकीय केन्द्र सौरहास्थित जंगल सफारी लजमा गत फागुन ६ गतेका दिन अनलाइन ट्राभल प्लाटफर्ममा रहनुको महत्वउपर प्रकाश पार्ने उद्देश्यले एक अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एक्सलट्रिप नेपालका राष्ट्रिय निर्देशक तथा सह–संस्थापक आदित्य बरालले नेपालको वर्तमान पर्यटकीय प्रवाहबारे बोल्दै यसको एक्सलट्रिप जस्ता अनलाइन प्लाटफर्मसँगको परस्पर सम्बन्धमाथि प्रकाश पारे । “प्रविधिले हाम्रो उद्यमलाई डिजिटल बाटोमा जानमात्र प्रेरित गरेको छैन”, बरालले भने, “एउटा चुस्त एवं सुदृढ प्रविधिले नेपालको भ्रमण उद्यमलाई सवलीकरण गर्दै आएको छ ।” उनले अगाडि भने, “हाम्रो बुकिङ इन्जिनले आन्तरिक यात्रुलाई चलायमान बनाउँदै मुलुकको एक कुनाबाट अर्को कुनासम्मको यात्रालाई सहज बनाउँछ । त्यसैले अन्तर्राष्ट्रिय भ्रमण गतिविधि बिथोलिँदा (उदाहरणका लागि कोरोना भाइरस) हाम्रो महत्व झनै बढ्छ ।” सरकारले समेत आफ्ना लक्षित समूहसम्म पहुँच बढाउन यस्तो प्रविधि अवलम्बन गर्नु उचित हुनेमा उनले जोड दिए । “अन्य बुकिङ इन्जिनविपरीत हामी व्यवसायीको घरदैलोसम्म पुग्दै सूचीकृत गर्छौं, जसबाट हाम्रा स्थानीय व्यवसायी आफ्ना अन्तर्राष्ट्रिय प्रतिस्पर्धीसँग कारोबार गर्न सक्ने सामथ्र्यको विकास गर्न सक्छने”, बरालले बताए ।
अन्तक्र्रियामा भाग लिँदै एक्सलट्रिपका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक ज्ञानेन्द्र खड्काले प्रत्येक होटलको आवश्यकता सम्बोधन निम्ति एक्सलट्रिप विशेष रूपले निर्माण गरिएको धारणा राखे । “ब्लकचेन प्रविधिमा आधारित हाम्रो विशिष्टिकृत इन्जिन बुकिङ डट कम, अगोडा जस्ता अन्तर्राष्ट्रिय बुकिङ इन्जिन समेतलाई बजार सबलीकरणका दृष्टिले उछिन्ने सामथ्र्य राख्छ”, खड्काले जोड दिए, उनले, “अब उप्रान्त नेपालमा रहेका कुनै पनि व्यवसायी नेपाली भाषामा बोल्दै अन्तर्राष्ट्रिय बजारबाट आफ्ना निम्ति कारोबार गर्न सक्ने सुविधामा रहने छन् ।” खड्काका अनुसार यस ओटिए नेपालमा रहेकाले अन्तर्राष्ट्रिय पर्यटक घटेको समयमा समेत यसले घरेलु पर्यटकको आवश्यकता सम्बोधन गर्दै होटल तथा रिसोर्टलाई लाभ दिलाउनेछ ।