कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
607

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सघाउने उद्देश्यले राधामाधव समिति नेपालद्वारा देशव्यापी रूपमा आध्यात्मिक तथा पर्यटकीय स्थानहरूको भ्रमण कार्यक्रमको आयोजना गरिएको छ । राधामाधव समिति नेपालका अध्यक्ष संगीता दिदीको अगुवाइमा सत्संगीहरू सम्मिलित भ्रमण टोलीद्वारा देशका सातै प्रदेशका सयभन्दा बढी ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको शुक्रबारदेखि आरम्भ गरिने उक्त भ्रमण कार्यक्रमको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राधे राधे ठिमीमा आयोजित एक विशेष समारोहकाबीच शुभारम्भ गरे ।
सो अवसरमा पर्यटनमन्त्री भट्टराईले आध्यात्मिक चेत, नैतिकबलका साथ सांस्कृतिक तहबाट नेपाल भ्रमण वर्ष सफल बनाउन राधामाधव समिति नेपालद्वारा आरम्भ गरिएको विशेषः अभियानको मुक्त कण्ठले प्रशंसा गर्दै जातीय तथा सामाजिक विविधता रहेको हाम्रो देशमा आयोजना गरिने यस्ता आध्यात्मिक भ्रमणले पर्यटन प्रवद्र्धन र सामाजिक सांस्कृतिक एकता कायम राख्न एकसाथ सहयोग पुग्ने विश्वास प्रकट गरे ।

सो अवसरमा राधामाधव समिति नेपालका अध्यक्ष संगीता दिदीले सन् २०११ मा आयोजित भिजिट नेपाल सफल बनाउन जगद्गुरु कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासजीले देशका विभिन्न दुर्गम स्थानमा भ्रमण गरेको प्रसंग स्मरण गर्दै राधामाधव समिति नेपाल जगदगुरु कृपालुजी महाप्रभुद्वारा प्रदत्त सेवा र साधनाको प्रेरणादायी मार्ग दर्शनलाई आत्मसात गर्दै देशको आध्यात्मिक, सांस्कृतिक तथा आर्थिक उन्नयनमा अघि बढ्ने भाव विनिमयसहित राधामाधव समितिका तर्फबाट मन्त्री भट्टराईलाई प्रेमोपहार प्रदान गरे ।
श्री राधामाधव समिति नेपालका राजेन्द्र सिग्देलको संयोजनमा डिभाइन युथ क्लब नेपालका अध्यक्ष उत्सव पाण्डेको सहजीकरण तथा स्वागतमा सञ्चालित उक्त समारोहमा समितिका उपाध्यक्ष गोपालप्रसाद सापकोटा, नेपाल सरकारका पूर्वसचिव सुरेश प्रकाश आचार्य, पाटन उच्चअदालतका सह–महान्यायाधिवक्ता सूर्य दाहाल, न्यायपरिषद्का पूर्व सदस्य पदम वैदिक, विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्र पुरुष ढकाललगायत देशभरका हजारौं सत्संगी तथा साधकहरूको भव्य उपस्थिति थियो ।