कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
457

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । महोत्सव फागुन ९ देखि १३ गतेसम्म ताप्लेजुङ हुने भएको हो । पाथीभरालगायत ताप्लेजुङको मुख्य पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका साथै मेची अञ्चलको पर्यटकीय क्षेत्रको समेत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर यही फागुन ९ गतेदेखि १३ गतेसम्म ताप्लेजुङमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव–२०७६ को पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव काठमाडौं समन्वय समिति संयोजक पासाङ शेर्पा बताए ।
उनले  भने, “ताप्लेजुङसँग कञ्चनजंघा र पाथीभरालगायतका पर्यटकहरूलाई लोभ्याउने सुन्दर र रमणीय ठाउँहरू छन् । ताप्लेजुङमा सरकारले पृथ्वीका लागि उपहार घोषणा गरेको कञ्चनजंघा क्षेत्र छ । विश्वमै सुन्दर कहलिएको सिंहलिला हिमश्रृंखला छ, जैविक विविधताको अपार भण्डार छ । जातीय–भाषिक विविधता छ, सांस्कृतिक अनेकता रहेको छ ।” पाथीभरामा नेपालको पूर्वी भागका श्रद्धालुहरूमात्र होइन कालेङ्पोङ, दार्जिलिङ, सिक्किम, आशामलगायत भारतका विभिन्न ठाउँका श्रद्धालुहरू पनि पाथीभरा देवीको दर्शन गर्न आउँछन् । ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरामा पुगेपछि त्यहाँबाट देखिने जुन रमणीयता र मोहकता छ त्यसले पाथीभरा धार्मिक गन्तव्य मात्रै नभई एउटा आकर्षक पर्यटकीय गन्तव्य पनि हो भन्ने महसुस गराउने आयोजकको दाबी छ । लिम्बूहरूको पवित्र भूमि फक्तालुङ र बौद्धमार्गीहरूको करिब ४ सय ७५ वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा पनि यसै जिल्लामा पर्छ भने ताप्लेजुङमा ३ सय प्रजातिका चराहरू पाइन्छन् । साथै नेपालमा पाइने ४५ मध्ये २८ प्रजातिका लालीगुराँस र १ सय ७१ प्रजातिका सुनाखरी ताप्लेजुङमा नै पाइन्छ । हालसम्म ताप्लेजुङमा १ हजारभन्दा बढी प्रजातिका फूलहरू फुल्ने बिरुवाहरू पाइएका छन् । जसमध्ये कञ्चनजंघा क्षेत्रमा मात्र ८ सय १० प्रजातिका बिरुवाहरू फेला परेका छन् ।
ताप्लेजुङ आकर्षक पर्यटकीय गन्तव्य स्थल हुँदाहुँदै पनि, जैविक विविधताको भण्डार हुँदाहुँदै पनि र जातीय विविधता र सांस्कृतिक अनेकतामा समृद्ध हुँदाहुँदै पनि आन्तरिक वा बाह्य पर्यटकका लागि अझै किन आकर्षक गन्तव्यस्थल बन्न सकेन भनेर प्रचार–प्रसार गर्ने, ताप्लेजुङका पर्यटकीय गन्तव्यस्थल चिनाउन पनि यो महोत्सव आयोजना गरिएको संयोजक शेर्पाले बताए । महोत्सवका लागि करिब ९२ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।