कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
312

सरकारले आगामी वैशाख २३ देखि २५ गतसम्म २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने भएको छ । ‘द वर्थ प्लेस अफ लर्ड गोतम बुद्ध, द फाउन्टेन अफ बुद्धिजम एन्ड वर्ड पिस’ नाराका साथ सम्मेलन आयोजना हुन लागेको हो । बुद्धको जन्मभूमि धार्मिक पर्यटकको प्रचार–प्रसार गरी नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पु-याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो ।
मूल आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सोमबार सरोकार निकायसँगको बैठक बसी सम्मेलनको कार्यायोजना र भावि रणनीतिसम्बन्धी छलफल आयोजना गरेका छन् । बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने, “नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न आयाममध्ये बुद्धको जन्म स्थल पनि एक भएको बताउँदै बौद्ध सम्मेलनले नेपाललाई त्यहि उचाइबाट चिनाउन सफल हुने दावी गरे । लुम्बिनी र बुद्धका बारेमाजति धरै चर्चा गर्यो, नेपालको छवि त्यत्तिनै माथि जाने उल्लेख गर्दै मन्त्री भट्टराईले यो बौद्ध सम्मेलनलाई भ्रमण वर्ष–२०२० को अवसरसँग पनि जोडर हेर्नुपर्ने बताए ।” २५ सय ६४ औं बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’ को बैठकले करिब डेढ दर्जन उपसमिति गठन गरेको छ ।

सम्मेलनमा बुद्ध र बुद्धिज्मको अध्ययन तथा अनुसन्धानका लागि आउनेहरूबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने उनको भनाई थियो । विगतमा बौद्ध सम्मेलन गर्दा हलको समस्या भोग्नु परे पनि यसपटक नेपाल सरकारले ५ हजार जना अट्ने सभाहल (विश्वशान्ति ध्यान केन्द्र) बनाएको र यो पटक सम्मलन त्यही स्थानमा हुने भन्दै मन्त्री भट्टराईले यसपटक सम्मेलन केन्द्रको बेला लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सञ्चालनमा ल्याउने अधिकतम प्रयास भइरहेको जानकारी गराए ।
सम्मेलन सम्पन्न गर्न सरकारले यसअघि नै आयोजक समितिको सदस्य–सचिवमा पासाङ शर्पालाई नियुक्त गरेको छ । मन्त्री अध्यक्ष रहने आयोजकमूल समितिमा १ सय १ जना सदस्य छन् । बैठकले सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न करिब २० वटा विभिन्न उपसमितिहरू पनि गठन गरेको छ । जसमा अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन, आर्थिक व्यवस्थापन, कपिलवस्तु समन्वय, रामग्राम समन्वय, देवदह समन्वय, प्राज्ञिक, अन्तरनिकाय समन्वय, सुरक्षाप्रवन्ध, अतिथि सत्कार, कार्य सम्पादन, आवास प्रवन्ध, यातायात प्रवन्ध, स्वयं सेवक व्यवस्थापन, मञ्चव्यवस्थापन, प्रचार–प्रसार, साँस्कृतिक तथा प्रवद्र्धन, हस्तकला व्यवस्थापनलगायत छ ।
सम्मेलनमा भाग लिनका लागि श्रीलंकाका राष्ट्रपति, थाइल्यान्डका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर, भारत, चीन, भियतनाम, कम्बोडिया, लाओस, जापान, दक्षिण कोरिया, भुटान, मंगोलिया, मलेसिया, सिंगापुर, बंगलादेश, अमेरिका, बेलायत, रसिया, कोस्टारिका, फ्रान्स र जर्मनका संस्कृति तथा धार्मिक मामिलामन्त्री तथा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वानकि मुन, भारतका सिक्किम, लद्धाख, अरुणान्चल, उत्तर प्रदेश, विहार, पश्चिमबंगाल, उत्तराखण्डका मुख्यमन्त्री, तिब्बतका गभर्नरका साथै यूएन डब्लूटीओका महासचिवलाई पनि आमन्त्रण गर्ने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।
यसपटक सम्मेलन साता व्यापीमनाउने निर्णय पनि बैठकले गरेको छ भने सम्मेलन ३ दिन केन्द्रित हुने जसमा पहिलो र दोस्रो दिन बौद्ध सम्मेलन तेस्रो दिन लुम्बिनी घोषणपत्र जारी गर्दै सम्मेलन समापन हुने सदस्य सचिव पासाङ शेर्पाले बताए । नेपालले सन् २०१६ देखि दुई–दुई वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ । सम्मलेन भव्यताका साथ सम्पन्न गर्न गत माघ २० मा बसेको मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो । करिब १५ देखि २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलनमा तत्काल अर्थ मन्त्रालयसँग मन्त्रिपरिषद्ले ४ करोड रुपैयाँ माग गरिएको सदस्य–सचिव शेर्पाले बताए ।