कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
392

सिन्धुपाल्चोक-सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नेपाल–चीन सीमामा रहेको भोटेकोसी गाउँपालिकाले महोत्सव गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य राखेर गाउँपालिकाको अगुवाइमा स्थानीय उत्पादन प्रवद्र्धनका साथै पर्यटकीय गन्तव्य अवलोकन गराउने गरी महोत्सव गरिन राखिएको हो ।गाउँपालिकास्थित तातोपानीलाई नेपाल सरकारले घुम्न पर्ने उत्कृष्ट एक सय गन्तव्यको सूचीमा समेत राखेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण गन्तव्य भए पनि यस क्षेत्रको पर्यटकीय गन्तव्यको पहिचान र प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । गाउँपालिकाले स्थानीय संघसस्थासँग समन्वय गर्दै चैत १५, १६ र १७ मा तीन दिवशीय भव्य महोत्सव गर्न लागेको हो ।महोत्सवको अवधिमा यहाँ रहेका साहसिक खेलसहित खाना, आवासमा विशेष छुटको व्यवस्था गरिएको छ । पर्यटन तथा होटल व्यवसायीहरू कम्तीमा २० प्रतिशत छुट दिन तयार छन् । यहाँ साहसिक खेलहरू बञ्जीजम्प, क्यानोनिङ, स्वीङलगायत छन् ।

महोत्सवमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।सीमा गाउँ भएकाले महोत्सवमा चिनियाँ पर्यटक धेरै भित्र्याई स्थानीय सामग्री, भाषा संस्कृतिको प्रवद्र्धन गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ । पर्यटकले भोटेकोसी गाउँपालिकामा रहेका ऐतिहासिक दुगुनागढी किल्ला, लिस्तीमाई मन्दिर, बन्जीजम्प, ७ सय वर्ष पुरानो मानव खप्पर रहेको गुम्बा, नेपाल चीन सीमामा पर्ने रमणीय  झरना, थापी नारायण मन्दिर, भैरवकुण्ड, तातोपानी धारालगायतको स्थानमा पर्यटकहरूले भ्रमण गर्न सक्नेछन् । “यहाँ रहेका पर्यटकीय गन्तव्यमा पर्यटक पु-याउन गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको छ,” गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भन्छन्, “उहाँहरूलाई यहाँ रहेका विविध जातजातिको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरूसमेत देखाउनेछौं ।”
उनका अनुसार यहाँ रहेका नेवार, शेर्पा, तामाङलगायत जातजातिले आफ्नो संस्कृति झल्कने कार्यक्रम पर्यटकलाई देखाउनेछन् ।भोटेकोसी गाउँपालिका व्यापार, पर्यटनसहित कृषिमासमेत अब्बल छ । यहाँ स्याउ, किबी, कागती, अलैंचीको व्यावसायिक खेती भइरहेको छ । चौंरीपालन यहाँको विशेषता हो । पर्यटकलाई यहाँ उत्पादित अर्गानिक खाना महोत्सव अवधिभर खुवाइने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । ‘स्थानीय उत्पादनहरू मुढा, ढाकाटोपी, गलैंचाको प्रवद्र्धनको व्यवस्था गरी व्यापारिक दृष्टिले पनि महोत्सवलाई हेरिएको छ ।” उनले स्थानीय उद्यमीहरूबाट उत्पादन हुने अन्य सामग्रीको प्रदर्शनसमेत गरिने जानकारी दिए ।

किशोर बुढाथोकी