कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
1092

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले ११ डिसेम्बर देखी १३ डिसेम्बरसम्म लाप्राकको अवलोकन भ्रमण गरेका छन् । लामाले त्यहाँ संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती परियोजनाको अवलोकन गर्नुका लाभग्राही, वडा अध्यक्ष, गाउँपालिका प्रमुख र स्थानीय सरोकारवालाहरुसँग भेटघाट समेत गरेको एनआरएनएले जनाएको छ ।
उनले सबै सरोकारवालाहरुसँग नमूना वस्तिबारे छलफल गरेका थिए । सो अवसरमा उनले त्यहाँ कार्यरत कर्मचारीहरुलाई काममा तिव्रता दिइ जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । हाल निर्माण कार्य अन्तिम चरणमा रहेको र चाँडै नै निर्माण कार्य सम्पन्न हुने कुरा परियोजना प्रमुखले जानकारी गराएका थिए ।

विषम एवम प्रतिकुल मौसमका बाबजुद पनि हालसम्म त्यहाँ रहेका कामदारहरु र नेपाली सेनाले गरेको काम प्रति संघका उपाध्यक्षले प्रशंसा गरेका छन् ।
यसरीनै उनले लाभग्राहीहरुसँग निर्माण कार्यका दौरान भएका गतिविधिहरु बारे छलफल गरेका थिए । लाभग्राहीहरुले समयमा नै काठको व्यवस्था नगर्दा निर्माण कार्यमा ढिलाइ भएको जानकारी गराउनका साथै निर्माण स्थलसम्म काठहरु ल्याउन कठिनाइहरुको सामना गर्नु परेको बारेमा पनि अवगत गराएका थिए । यसरी नै गाउँपालिकाका अध्यक्षले निर्माण भइसकेका घरहरुमा लाभग्राहीहरुलाई सार्नको लागि पहल गर्ने र साथै यस परियोजनामा स्थानीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उपाध्यक्ष लामाले परियोजनामा सहयोग गर्ने सबै सरोकारवालाहरु प्रति धन्यवाद प्रकट गर्नुका साथै सबै सरोकारवालाहरुलाई छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरे ।
भ्रमणमा संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र सूचना प्रविधी तथा संचार अधिकृत रुपक लामिछानेको सहभागीता रहेको थियो ।