कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
525

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले नेपालीका लागि निकट भविष्यमै जापान र युरोपका लागि रोजगारीको अवसर श्रृजना गर्ने बताएका छन् ।
आप्रवासी कामदार दिवस २०१९ को अवसरमा सर्लाहीमा आयोजित “विदेशबाट आएको विप्रेशणको उत्पादनमुलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम उद्घाटन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका जापानसहित युरोपेली युनियनमा आवद्ध देशहरुमासमेत रोजगारीको अवसर श्रृजना गर्न पहल भइरहेको जानकारी दिए । “नेपालीले खाडी मुलुकमा मात्र परिश्रम बगाउने हैन अब सीप र दक्षता अनुसार जापान तथा युरेपेली मुलुकमासमेत काम गर्न पाउनुपर्छ भन्नेमा हामी लागि परेका छौं”, मन्त्री यादवले भने, “विकसित मुलुकमा वैदेशिक रोजगारीका अवसर श्रृजना गर्न सकिए मुलुकलाई निकै फाइदा पुग्ने निश्चित छ ।”

वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रकमलाई उत्पादनशिल क्षेत्रमा सदुपयोग गराउनसके मुलुकको आर्थिक समृद्धिमा निकै टेवा पुग्ने उल्लेख गर्दै मन्त्री यादवले त्यसतर्फ सबै पक्ष, तह र तप्कालाई ध्यान दिन आग्रह गरे ।
त्यस्तै मन्त्री यादवले सीप हासिल गर्दै दक्ष बनेर मात्र वैदेशिक रोजगारीमा जान पनि आग्रह गरेका छन् । जुन कामको लागि जाने हो, सोही अनुसारको सीप हासिल गर्न मन्त्री यादवले आग्रह गरे । उनले भने, “कामका लागि जुन देशमा जाने हो उक्त देशको भाषा तथा कानूनी व्यवस्थाका आधारभूत जानकारी लिनु पर्छ ।”
वैदेशिक रोजगारीमा जानेहरुका लागि निःशुल्क रुपमा सीप सिकाउनका लागि सरकारले ७ वटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने तयारी गरिरहेको मन्त्रीयादवले जानकारी दिए । हाल केन्द्रमा मात्र रहेको निःशुल्क तालिम केन्द्रलाई अब ७ वटै प्रदेशमा विकेन्द्रीकरण गरेर सेवा विस्तार गर्ने योजना मन्त्रालयको रहेको उनले सुनाए ।
मन्त्री यादवले नेपालबाट जाने श्रमिकले अन्य देशका श्रमिकको तुलनामा नेपाली निकै कम पारिश्रमिक पाइरहेकोले सो समस्या समाधानका लागि प्रयास भइरहेको बताए । समान काम गर्दा अन्य देशका श्रमिक सरहनै नेपाली श्रमिकले पनि पारिश्रमिक पाउनुपर्छ भन्ने विषयमा सम्बन्धित देशहरुसँग कुराकानी भइरहेका उनको जानकारी दिए । कार्यक्रममा बोल्दै प्रदेश २ सरकारका उद्योग, पर्यटन वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले वैदेशिक रोजगारीबाट नेपाल भित्रिएको पैसाले मुलुकलाई निकै टेवा पुगेको बताए । “जिविका धान्नै नसक्ने परिवारका सदस्य वैदेशिक रोजगारीमा गएको र आएको पैसाले बालबच्चालाई शिक्षादिक्षा दिन थालेका छन्” उनले भने, “ती बालबालिका शिक्षित हुँदा पक्कै पनि भावि दिनमा मुलुकलाई निकै फलदायी हुने मेरो विश्वास छ ।”
सहयोगी समाज नेपाल तथा स्वाबलम्बन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी विदेशबाट फर्किएका कामदार तथा आप्रवासीका परिवारले विदेशबाट आएको विप्रशणको दुरुपयोग आफूहरुले नगरेको बताएका थिए । विदेशको कमाई व्यवसायमा लगाउन नसकेको स्वीकार गर्दै उनीहरुले जग्गा किनेर सदुपयोग गरेको बताएका थिए । नेपालमै उद्यमशिल बन्न ठूला जोखिम भए पनि आफूहरुले प्रयास गरेको तर राज्यबाट कुनै भरोसा तथा प्रोत्साहन नभएकाले पुनःविदेश फर्कनुपर्ने बाध्यता रहेको विदेशबाट फर्किएकाहरुको भनाइ थियो ।