रासस
सोमवार, मंसिर ३०, २०७६
796

गलकोट- अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ ।
बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरूपमा उत्पादन हुने किबी महंगो फलमध्येको पर्दछ ।

निसिखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रूपमा गरेको किबी खेतीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याइ छ । घर्तीले यही याममा मात्र तीन लाख रुपैयाँ बराबरको किबी बजारमा बिक्री गरिसकेको बताए ।
‘उत्पादन भए बजारीकरणको समस्या छैन,’ राष्ट्रिय किसान समूह महासंघका जिल्ला अध्यक्षसमेत रहेका कार्कीले भने, ‘बुटवल र पोखरा मात्रै ८०० केजी किबी पठाएँ ।’ उनले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताए ।
घर्तीको बगानमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० केजीदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘अहिले चार रोपनी क्षेफलमा किबीखेती विस्तारमा लागिरहेको छु’ उनले भने । एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ ।
उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यावसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उनको अनुभव छ ।
घर्तीले व्यावसायिक रूपमा केरा र ओखरखेती पनि थालेका छन् । किबीलाई बुटवल र पोखरामा प्रतिकेजी ५०० रुपैयाँमा मा बिक्री गरेको उनी बताउँछन् । घरबाट भने ४५० रुपैयाँमा बिक्री गरेको घर्तीको भनाइ छ ।