कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
299

इलामको माङ्सेबुङमा रहेको धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखीमा परापूर्व कालदेखि लाग्दै आएको मेला सुरु भएको छ । कात्तिके पूर्णिमाको अवसरमा लाग्दै आएको धार्मिक तथा पर्यटकीय मेला मंगलबारबाट सुरु भएको हो ।
माङसेबुङ गाउँपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाम नजिकै देउमाई खोलाको किनारमा मेला लागेको हो । मेलाको मुख्य पहिलो दिन मंगलबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरूको भीड लागेको छ । धाम आसपासमा अस्थायी टहराहरू निर्माण गरेर होटल सञ्चालन गरिएको छ । साथै बिभिन्न किसिमका व्यापारिक स्टलहरू समेत राखेर व्यापार भइरहेको छ ।

मेलामा नेपालका बिभिन्न क्षेत्रका भक्तजनहरूको समेत उपस्थिति हुने गरेको छ भने भारतको सिक्किम, मिरिक, दार्जिलिङबाट समेत पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
मेलालाई व्यवस्थित गर्न मेला आयोजक गजुरमुखी धाम बजार व्यवस्थापन समिति गठन गरिएको छ । हुलहुज्जत र झै–झगडा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बर कार्कीले बताए । उनका अनुसार मेलालाई सभ्य, भव्य र व्यवस्थित ढंगबाट सम्पन्न गर्न तयारी गरिएको छ ।
गजरमुखी धाममा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बोली नआएकाहरूको बोलि आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । एक पटक गजुरमुखी पुगेर नहुने मनोकांक्षा पुरा भएपछि पुन भाकल पूरा भएको सुनाउन पनि गजुरमुखी जानै पर्ने मान्यता छ ।
स्थानीयहरूले गाउँठाउँमा उत्पादन गरेका कृषिउपजदेखि प्लास्टिक, स्टिल तथा तामाका सामानहरू समेत बिक्रीका लागि राखिएको छ । मेलामा ५० हजार भन्दा बढी पर्यटकहरू भिœयाउने आयोजकले लक्ष लिएको छ । गजुरमुखी जिल्लाको पश्चिमी क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थल हो । यहाँ दैनिक सयौं पर्यटकहरू पुग्ने गरेका छन् । यस मेलाले वर्षभरि नै पर्यटकहरू भिœयाउन सघाउ पु¥याउने गर्छ । इलाम सदरमुकामबाट मेची राजमार्गको नेपालटार पुगेर देउमाई नगरपालिकासम्म पक्की सडक र त्यहाँबाट करिब डेढघण्टा कच्ची सडक गाडीमा नै यात्रा गरेपछि गजुरमुखी पुग्न सकिन्छ ।