प्रकाश लम्साल
शुक्रवार, कार्तिक २२, २०७६
395

 
१६५० हेक्टरका १ लाख २९ हजार रुखमात्र काटिने


बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गर्ने तयारी अघि बढाइएको छ । विमानस्थल निमार्णमा सबैभन्दा पेचिलो र विवादित बनेको रुख कटानको विषयलाई सम्बोधन गर्नेगरी विमानस्थल निर्माण गर्न लागिएको हो । जसअनुसार अब विमानस्थल निर्माणमा सवा लाख रुखमात्र कटान गरिने भएको छ । विमानस्थलको दुईवटा धावनमार्गसहित अन्य पूर्वाधार निर्माण गर्दा विभिन्न प्रजातिका १ लाख २९ हजार रुखमात्र कटान हुने आयोजनाले जनाएको छ ।

 विमानस्थल निर्माण आयोजनाले बाराको सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना प्रमुख ओम शर्माले २४ लाख रुख काटिने हल्ला निराधार भएको जनाउँदै सवा लाख रुख काटेरै निर्माण सम्भव भएको दावी गरे । शर्माले बाहिर प्रचार गरिएजस्तो विमानस्थल निर्माणमा वन क्षेत्र ८ हजार हेक्टर नभई १६५० हेक्टरमात्र रहेको र यसमा रहेकामध्ये अधिकतम १ लाख २९ हजार रुखमात्रै कटान हुने जानकारी दिए । “त्यसैमा २ धावनमार्गसहित विमानस्थलको सम्पूर्ण पूर्वाधार बनिसक्नेछन्,” आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले भने ।शर्माले २४ लाख सालको रुख काटिने भन्ने हल्ला विमानस्थल बन्न नै नदिने षडयन्त्रको उपज रहेको भन्दै यस्तो भ्रमको पछि नलाग्न आग्रहसमेत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आउँदो मंसिरमा निजगढ विमानस्थलको शिलान्यास हुने बताउँदै आएका छन् । आयोजना प्रमुख शर्माले कम क्षतिमा विमानस्थल निर्माणको अवधारणा पर्यटनमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरिने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार काम अघि बढाइने बताएका छन् । 
शर्माका अनुसार प्रस्तुत ढाचाँमा १ लाख २९ हजार रुख कटान हुने र त्यसमा टर्मिनल भवन, प्रवेश मार्ग, डबल रनवेलगायतका पूर्वाधार पूर्णतः हरित विमानस्थलको अवधारणामा बन्नेछन् ।दुई धावनमार्गका लागि आवश्यक कुल २३ सय ५० हेक्टर क्षेत्रफलमध्ये साविकको टाँगियावस्तीलाई बाराकै कोल्हवीमा स्थान्तरण गरिँदैछ । यो वस्ती जम्मा ६ हजार हेक्टरमा फैलिएको छ । यस्तै, बुट्यान १ हजार हेक्टर, जंगल १ हजार ६५० हेक्टर रहेको र यसमा १४ हजार ४० वटा सालका रुख रहेका छन् भने बाँकी बिभिन्न प्रजातिका रुख र बुट्यान पर्ने आयोजनाले प्रस्तुत गरेको खाकामा उल्लेख छ ।महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख शर्माले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि सरकारलाई सघाउने वैकल्पिक र उत्तम उपायसहितको अवधारणा ल्याइएको र सबै मन्त्रालय जानकार रहेकाले चाँडै नै प्रधानमन्त्रीसमक्ष ढाँचा पेश हुने र सोहीअनुसार अघि बढ्ने बताए । मुलुकको समृद्धिको बलियो आधारका रूपमा रहेको यस निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको रुख कटानको अनावश्यक हल्ला र विवादलाई सम्बोधन गर्न कार्यालयले सरोकारवालासहित पत्रकार सम्मेलनमा वैकल्पिक ढाँचा सार्वजनिक गरेको हो ।
अवधारणाअन्तर्गत पहिलो पाँच वर्षमा एउटा धावनमार्ग र टर्मिनल भवनलगायतका संरचना बनाएर विमानस्थल तत्काल सञ्चालनमा ल्याउन सकिने छ । पहिलो चरणमा १० हजारमात्रै रुख काट्दा पुग्छ भने टाँगिया बस्ती स्थानान्तरण र १० हजार रुख काटेर एउटा धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन, जहाज पार्किङ, प्रवेश मार्ग, गाडी पार्किङ, एउटा कार्गो भवन, फायर स्टेसन, फ्यूलमार्ग, राडारलगायतका संरचना आफनै बजेटबाटै निर्माण गर्न सकिने आयोजनाको अवधारणमा उल्लेख छ ।दोस्रो चरणमा दोस्रो धावनमार्ग र टर्मिनल लगायतका संरचनाहरू निर्माण हुनेछन् । यो चरणमा तेस्रो धावनमार्ग, टर्मिनल भवनलगायत बाँकी संरचनाहरू बन्ने निर्माणको वैकल्पिक ढाँचामा उल्लेख छ ।
प्रस्तावित विमानस्थलको कुल क्षेत्रफल ८ हजार हेक्टर भएपनि हाल विमानस्थल निर्माणमा १ हजार ६ सय ५० हेक्टर वन क्षेत्र प्रयोग हुनेछ । प्रदेश सरकारका वनमन्त्रीको पछिल्लो अभिव्यक्तिपछि जग्गा दलाललहरूले गलत सूचना सम्प्रेषण गरी सर्लाहीको मूर्तिया र सागरनाथ वन क्षेत्र भन्ने स्थान उपयुक्त भन्दै हौवा फिजाएर जग्गाको मूल्य उठाउन खेल खेलिएको सरोकारवालाको आशंका छ ।