कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
390

 

दुवै देशका वायुसेवाले अबदेखि जुनसुकै प्रकारको वायुयानबाट ७ उडान गर्न सक्ने

नेपाल र अस्ट्रेलियाबीच एयर सर्भिस एग्रिमेन्ट (हवाई सेवा सम्झौता) भएको छ ।
क्यानाडाको मोन्ट्रियलस्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रधान कार्यालयमा द्विपक्षीय सम्झौता भएको हो । सम्झौतामा दुवै पक्षका वायुसेवाले अबदेखि जुनसुकै प्रकारको वायुयानबाट ७ उडान गर्न सक्ने उल्लेख छ ।

नेपालका वायुसेवाले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा ७ उडान असीमित क्षमतामा उडान गर्न सक्ने उल्लेख छ । भने अस्ट्रेलियन पक्षका वायुसेवाले काठमाडौंमा ७ उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमतामा पोखरा विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उपयोग गर्नु पाउने छन् ।
नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सम्झौता नहुदाँ नेपाल आउने अष्ट्रेलियन र अष्ट्रेलिया जाने नेपालीले अन्य देशमा ट्रान्जिटको माध्यबाट जानु पर्न बाध्यता थियो । सीधा उडान नभएका कारण चीन, कोरिया, थाइल्यान्डलगायतका मुलुक हुँदै नेपालीहरू अस्ट्रेलिया जाने आउने गरेका छन् ।
मन्त्रिपरिषद्को गत असोज ७ गते बसेको बैठकले दुई देशबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको थियो । यो सँगै अष्ट्रेलिया नेपालले हवाई सेवा सम्झौता गरेको देशमध्य ४० औं मुलुक भएको छ ।