कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
245

तनहुँ- जिल्लामा तीन वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो ।
४२ लाख रुपैयाँको लागतमा तीन हजार ५ सय ४५ मिटर दूरीको पदमार्ग निर्माण गरिएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले जानकारी दिए ।

पदमार्ग निर्माण सम्पन्न भएपछि स्थानीय जनता र पर्यटकलाई आवतजावतमा सुविधा पुगेको पौडेलले बताए । पदमार्ग निर्माणका लागि प्रदेश सरकारले ३३ लाख रुपैयाँ सहयोग गरेको थियो भने स्थानीय उपभोक्ताले आठ लाख ९७ हजार लागत सहभागिता व्योहोरेका थिए ।
भीमाद नगरपालिका–९ स्थित धन्दुरदेखि इकोपार्कसम्मको तीन हजार मिटरको पदमार्ग १९ लाख १८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । पदमार्ग निर्माणका लागि प्रदेश सरकारको १४ लाख २९ हजार रुपैयाँ र स्थानीयवासीको चार लाख ८९ हजार रुपैयाँ लगानी भएको छ । उक्त पदमार्गबाट १३५ घरधुरी लाभान्वित भएका छन् ।
व्यास नगरपालिका–५ स्थित पराशर क्षेत्रमा २५० मिटरको पदमार्ग १० लाख ३४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको छ । पदमार्ग निर्माणका लागि प्रदेश सरकारको नौ लाख २९ हजार रुपैयाँ र स्थानीयको एक लाख पाँच हजार रुपैयाँ खर्च भएको छ ।
पदमार्गबाट ३५० घरधुरी लाभान्वित भएका छन् । भानु नगरपालिका–१२ र १३ स्थित बयापानी भञ्ज्याङदेखि कोटकाली भयरथान हुँदै मिर्लुङकोट जाने २९५ मिटर पदमार्ग १२ लाख ५५ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।
पदमार्गका लागि प्रदेश सरकारको नौ लाख ५२ हजार रुपैयाँ र स्थानीयवासीको तीन लाख तीन हजार रुपैयाँ लगानी भएको छ ।