कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
1066

 

४७ अर्ब खर्चंदै प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष (२०७६-७७) का लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार ९ सय ९४ रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्षभन्दा पौने २ अर्ब बढी बजेट विनियोजन गरेको प्राधिकरणले राष्ट्रिय गौरवका विभिन्न तीन वटा विमानस्थल आयोजनाका लागिमात्र करिब २३ अर्ब रुपैयाँ छुट्याएको छ । गत वर्ष प्राधिकरणको कुल बजेट ४५ अर्ब १७ करोड ५७ लाख रुपैयाँ थियो । भदौ १९ मा बसेको प्राधिकरण सञ्चालक समितिको ३६२ औं बैठकले बजेट पारित गरी बिहीबार सार्वजनिक गरेको थियो ।
प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढस्थित प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि २२ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको हो । यो रकम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभित्र सम्पन्न गर्न र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भिक कार्यका लागि खर्च हुने जनाइएको छ ।
गौतम बुद्ध विमानस्थलको हालसम्म ७४ प्रतिशत निर्माण सम्पन्न भएको छ भने पोखरा विमानस्थलको ४२ प्रतिशत सम्पन्न भएको छ । तर, निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतमात्रै भएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार चालू आर्थिक वर्षको स्वीकृत नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिय गौरवका आयोजनापछि सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार र विकासका लागि ६ अर्ब ३९ करोड ५२ लाख विनियोजन गरिएको बताए । त्रिभुवन विमानस्थलको नागरिक उड्डयन कार्यालयको लागि ३ अर्ब ८९ करोड ८८ लाख छुट्याएको जानकारी दिए । यस्तै, चालू आर्थिक वर्षभित्र त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलको अवधारणाअनुरूप स्तरोन्नति गर्दै २४ सै घण्टा सञ्चालनयोग्य बनाउने तथा विमानस्थलमा ट्रान्जिट यात्रुका लागि ट्रान्जिट लाउन्जको व्यवस्था गर्ने प्राधिकरणका प्रवक्ता त्रिलोचन पौड्यालले जानकारी दिए ।
प्राधिकरणले प्रदेशतहमा रहेका विमानस्थललाई एटीआर–७२ विमान उडानयोग्य विमानस्थल बनाउने, प्रदेशमातहतका जिल्लामा हवाई सञ्जाल विस्तर गर्ने योजनासमेत अघि सारेको छ ।
आम्दानीतर्फ भने प्राधिकरणले एयरनोटिकलबाट ७० प्रतिशत र नन्एयरनोटिकल क्षेत्रबाट ३० प्रतिशत आम्दानी गर्ने लक्ष्य लिएको जनाएको छ । जसअन्तर्गत एरोनोटिकलबाट ५ अर्ब ८३ करोड १९ लाख र नन् एरोनोटिकलबाट २ अर्ब ४९ करोड ९४ लाख गरी ८ अर्ब ३३ करोड १३ लाख आय हुने अनुमान गरेको छ । पुँजीगत तथा कार्यसञ्चालन तर्फ भने ३८ अर्ब २३ करोड २१ लाख खर्च हुने जनाएको छ ।
यस्तै, चालू आर्थिक वर्षमा विमानस्थल विकास शुल्क (एडीएफ) बाट २ अर्ब २१ करोड २८ लाख उठाउने लक्ष्य राखेको छ । यस्तो शुल्क प्राधिकरणले गत आर्थिक बर्षमा २ अर्ब ३४ करोड ७ लाख उठाउने प्रक्षेपण रहेकोमा १ अर्ब ९२ करोड ४२ लाख मात्रै संकलन गरेको थियो । आर्थिक वर्ष २०७१-०७२ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुबाट मूल्य अभिवृद्धि करसमेत गरी एक हजार शुल्क उठाउने गरेको छ । यस शुल्कबाट प्राधिकरणले त्रिभुवन विमानस्थलको पूर्वाधार, स्तरोन्नति, सुदृढीकरण, विकास तथा विस्तार गर्न र प्राधिकरणले लिएको ऋण तथा साँवा, व्याज भुक्तानी गर्ने गरको छ ।
यसैबिच प्राधिकरणले कर्मचारी बोनसका लागि १ अर्ब २६ करोड ३१ लाख छुट्याएको छ । आर्थिक वर्ष २०६८-६९ देखि लगातार नाफा कमाउँदै आएको प्राधिकरणको सरकारलाई बुझाउने लाभांस वापतको रकम कट्टा गरेपछिको कुल सञ्चित मुनाफाबाट कर्मचारीको बोनसका लागि सो रकम छुट्याएको हो । तर नियामक निकायले गैर कानूनीरुपमा बोनस खान लागको भनेर यसअघि पनि विरोध भएको थियो ।

रोशन थापा, दीपेन्द्र थापा