कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
616

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलमा यसअघि बन्द भएको ड्युटी फ्रि पसल पुनः सञ्चालन गर्न निर्देशन दिएका छन् ।
विमानस्थल सुधारका लागि विभिन्न सरोकारवालासँग भएको छलफलपछि विमानस्थलमा फेरि ड्युटी फ्रि पसल सुरु गर्न मन्त्रीले निर्देशन दिएका हुन् ।

“विमानस्थलस्थित ड्युटी फ्रि पसल पुनः सञ्चालनको निम्ति बिक्री गरिने सामानहरूको सूचीसहित विमानस्थल व्यवस्थापनबाट यथाशीघ्र पेस गर्न र मन्त्रालयस्तरबाट सम्बन्धित निकायमा समन्वय गरी ड्युटी फ्रि पसल सञ्चालनका लागि पहल गर्ने निर्देशन दिएको छ,” विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रले जानकारी दिए ।
विमानस्थलमा सञ्चालन हुँदै आएको ड्युटी फ्रि पसल २०६५ सालमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न वस्तुको भन्सार छुट (ड्युटी फ्रि) मार्फत वस्तु आयातमा रोक लगाएका थिए ।
त्यस्तै, मन्त्री भट्टराईले छलफलमा विमानस्थल भएर आउने आगमन यात्रुहरूलाई आगमन भन्सार क्षेत्रमा मेटल फ्रिका नाममा अनावश्यक सास्ती बेहोर्नु परेको र त्यस्तो कार्य अन्तर्राष्ट्रिय र प्रचलित व्यवहार प्रतिकूल भएकाले तत्काल रोक्न निर्देशनसमेत दिएका छन् ।
छलफलका क्रममा हाललाई मेटल फ्रिको साटो यात्रुहरूबाट नमुना छनोट गरी स्क्रिनिङ गर्ने र सम्बद्घ मन्त्रालय वा उपल्लो निकायमा समेत आवश्यक समन्वय गरी सो क्षेत्रलाई स्क्रिनिङ फ्रि गर्न निर्देशन दिएका थिए ।
साथै, विमानस्थलमा सञ्चालन भइरहेका ट्याक्सीहरूको गुणस्तर सुधार गर्नका लागि अध्ययन गरी एक मिहनाभित्र प्रतिवेदन पेस गर्नसमेत निर्देशन दिएका छन् ।
विमानस्थलमा सञ्चालन भइरहेका ट्याक्सीहरूको हालको गुणस्तरको मूल्यांकन गरी यात्रुहरूलाई बढीभन्दा बढी सहजता प्रदान गर्नका निम्ति अन्तर्राष्ट्रिय प्रचलनहरूलाई समेत दृष्टिगत गरी त्यस्ता ट्याक्सीहरूको गुणस्तर, मापदण्ड, भाडादर आदि विषयमा १ महिनाभित्र प्रतिवेदन पेश गर्ने भनिएको छ । यसका लागि निम्ति विमानस्थलस्थित सवारी साधन एवं पार्किङ अनुगमन कमिटीलाई माननीय निर्देशन मन्त्रीले दिएका छन् ।
परिवर्तन स–सानो प्रयासबाट समेत प्रतिबिम्बित हुन सक्ने भएकाले सकारात्मक सोचका साथ अघि बढ्न र आफूले सम्पादन गरेका राम्रा कार्य एवं सेवा सुविधाहरूलाई आवश्यक प्रचार–प्रसार गरी सर्वसाधारणको पहुँच विस्तार गर्नका लागि समयानुकूल सूचना प्रविधिहरूको अवलम्बन गरी आवश्यक परेको खण्डमा विमानस्थलमा स्मार्ट आईटी-मिडिया सेक्सन समेत स्थापना गरी अघि बढ्न निर्देशन समेत दिएका छन् ।
विमानस्थल प्रयोग गर्ने फस्ट क्लास र बिजनेस क्लासका यात्रुहरूलाई प्राथमिकता चेक इन, इमिग्रेसन बोर्डिङ-ब्यागेज क्लियरेन्सको व्यवस्था मिलाउन छुट्टै पिकअप अप ड्रपको व्यवस्था गर्न, वृद्घ, अशक्त तथा अपाङ यात्रुहरूलाई प्राथमिकतामा चेक इन, इमिग्रेसन बोर्डिङ र बिश्रामको व्यवस्था मिलाउन र साझा यातायात एवं पर्यटक यातायात संस्थासँग छलफल एवं सहकार्यमा विमानस्थलवाट सहरका विभिन्न पर्यटकीय क्षेत्रमा सरल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।