दीपेन्द्र थापा
सोमवार, श्रावण ६, २०७६
519

नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण वर्ष सचिवालयले थप ५० करोड रुपैयाँ सरकारसँग माग गरेको छ । सचिवालयका संयोजक सुरज वैद्यले सरकारले उपलव्ध गराएको १० करोड रुपैयाँ बजेट अपुग भएकाले थप ५० करोड रुपैयाँ माग गरिएको जानकारी दिए । सचिवालयले आइतबार आफ्नो बजेट तयार पारी सरकारसँग थप ५० करोड माग गरेको हो । “यस वर्ष १० करोड रुपैयाँमात्रै बजेट विनियोजन भएको थियो, त्यतिले पुगेन त्यसैले थप बजेट माग गरेका हौं,” वैद्यले भने ।
सरकारले उपलब्ध गराएको बजेटको अधिकांश खर्च तलबभत्तामै गएको भन्दै वैद्यले भ्रमण वर्ष सफल बनाउनका लाथि थप बजेट आवश्यक भएको स्पष्ट पारे । उनले भने, “पैसा माग्नका लागि मात्रै मागिएको होइन, विभिन्न कार्यक्रम छन् र भ्रमण वर्ष सफल बनाउन थप रकम आवश्यक परेको छ ।”

सन् २०११ को भ्रमण वर्षमा सरकारले ३० करोड रुपैयाँ उपलब्ध गराएको उल्लेख गर्दै वैद्यले भने, “आजका दिनमा त्यतिबेलाको ३० करोड रुपैयाँ बराबर १ अर्ब हुन्छ ।” अहिले सचिवालयले भ्रमण वर्ष सफल बनाउनका लागि स्पोट्र्स टुरिजममा पनि विशेष फोकस गरेको भन्दै वैद्यले कार्यक्रम सफल बनाउन बजेट आवश्यक पर्ने बताए ।
पर्यटन क्षेत्रको विकासका लागि पर्यटन क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नुपर्ने आजको चुनौतीबीच पर्यटन लगानी सम्मेलन समेत गर्न लागेको उनले जानकारी दिए । उनले भने, “अब केही समयमा नै हामीले पर्यटन लगानी सम्मेलन गर्छौं, जसमा एमओयूमात्रै होइन, सम्झौता नै गर्ने गरी काम अगाडि बढाउँछ ।”
पर्यटन क्षेत्रमा विदेशी लगानी ल्याउन सकेको खण्डमा यसले ठूलो प्रभाव पार्ने भन्दै वैद्यले सरकारले बजेट विनियोजनमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “त्यतिमात्रै होइन, हाइ अल्टिच्युडमा विभिन्न खेल खेलाउन सकियो भने त्यसबाट पनि भ्रमण वर्षको प्रबद्र्धन गर्न सकिन्छ,” उनले भने, “नेपाल इन्टरनेसनल क्रिकेट काउन्सिलको समेत सदस्य हो, यसका सदस्य राष्ट्रहरू नेपालसहित श्रीलंका, बंगलादेश जस्ता देशलाई नेपालमा ल्याएर क्रिकेट खेलाउने तयारी पनि गरिरहेका छौं ।”
संयोजक वैद्यले यस्ता खेलबाट विश्वस्तरमा नेपालमा स्पोटर्स टुरिजमको सम्भावना प्रवाह हुने बताए । उनले कर्णालीमा ¥याफ्टिङमार्फत पनि पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न सकिने उल्लेख गरे । त्यतिमात्रै होइन, यस्ता माध्यमबाट नेपालको संस्कृति, परम्परा र भौगोलिक बनावटलाई पर्यटनका माध्यमबाट विश्वस्तरमा नेपालमा पर्यटक भित्राउन सकिने उनको विश्वास छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । सन् २०१८ मा नेपालमा ११ लाख ७२ हजार पर्यटक भित्रिएका थिए । जुन अघिल्लो वर्षको तुलनमा २५ प्रतिशतले बढी हो । पर्यटक बढे पनि उनीहरूले गर्ने खर्चमा कटौती हुँदा पर्यटन क्षेत्रले आशातित आम्दानी गर्न सकेको थिएन । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा पर्यटकले नेपालमा गर्ने औसत खर्च १० अमेरिकी डलरले कमी आएको छ ।
सन् २०१७ मा प्रतिदिन औसत ५४ अमेरिकी डलर खर्च गर्ने पर्यटकले सन् २०१८ मा प्रतिदिन औसत ४४ अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै, पर्यटकहरूको नेपाल बसाइ पनि औसत १२.६ बाट घटेर १२.४ भएको छ ।
सरकारले भ्रमण वर्ष सफल बनाउनका लागि गुणस्तरीय पर्यटक ल्याउनका लागि समेत योजना बनाएको छ । पर्यटकको संख्या बढे पनि बसाइ र खर्च नबढेकाले गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने वैद्यको भनाइ छ ।