कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
430

दमौली- तनहुँको व्यास नगरपालिका–१३ स्थित दलित समुदाय होमस्टे सञ्चालन गरी व्यावसायिक बन्न थालेका छन् । २०७३ सालमा स्थापना भएको आँपस्वाराका दलित समुदायिक होमस्टेले दलित समुदायलाई आर्थिक रूपमा सबल मात्र बनाएको छैन, समाजमा जागरण समेत ल्याएको होमस्टेका अध्यक्ष रेशम विक बताउँछन् । यो होमस्टे पर्यटन कार्यालय पोखरामा दर्ता गरी सञ्चालन गरिएको नेपालकै पहिलो दलित होमस्टे हो ।
नौ घरबाट सुरु गरिएको होमस्टे हाल १७ घरमा सञ्चालित छ । समाजबाट छुवाछूतको विभेद हटाउने उद्देश्य राखेर सञ्चालन गरिएको होमस्टेबाट अहिले राम्रो आम्दानी भएको होमस्टेकी उपाध्यक्ष सुशीला विकको भनाइ छ । ज्याला मजदुरी र खेतीपाती गरेर गुजारा गर्दै आएका दलित समुदायलाई होमस्टेले आत्मबल बढाएको छ  ।

होमस्टे सञ्चालन भएयता ५ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक बास बसेको अध्यक्ष विकले जानकारी दिए । अमेरिका, फ्रान्स, जर्मन, जापान, , इन्डोनेसिया, स्विट्जरल्यान्ड र फिनल्यान्डलगायत १८ मुलुकका पर्यटक आँपस्वाँरा दलित होमस्टेमा बास बसी सकेका छन् ।
साथै दलित समुदायको रहनसहन, जीवनशैली, पेसा र संस्कृतिको बारेमा अध्ययन अवलोकन गर्नका लागि समेत दलित होमस्टे नमुना बनेको छ ।
दलितहरूको पुख्र्यौली पेसा आरन, छालाको जुत्ता र नारा बनाउने, कपडा सिलाउने लगायतका बारेमा बुभm्न पनि पर्यटकहरू होमस्टे आउने गर्छन् । होमस्टेले महिलाहरूको जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ । सभा समारोहमा उभिएर परिचय दिन नसक्ने महिलाहरू अहिले नेतृत्व तहसम्म पुग्न सफल भएको कोषाध्यक्ष मधुमाया विकले बताइन् । छुवाछूतको विरुद्धमा खुलेर आवाज उठाउने हिम्मत मात्र दिएको छैन होमस्टेले महिलाहरूलाई बालबच्चा, घरगाउँ सरसफाइ राख्न पनि सिकाएको छ । समाजमा जाँडरक्सी खाएर, जुवातास खेलेर समय फाल्ने पुरुषहरूसमेत अहिले सिर्जनशील भएको स्थानीय इन्द्र सुनारले बताइन् ।
आरनमा हँसिया, कोदालो, फाली, खुकुरी र बाँसको डोको, ढकीया, छत्री जस्ता सामग्री बनाएको प्रत्यक्ष अवलोकन गर्न पाउँदा पर्यटकले आनन्द मानेर हेर्ने गर्छन । महिलाहरूले गाउँमा नै माटोको माला, कण्ठ र अन्य गरगहना बनाएर आम्दानी गरीरहेका छन् । साथै गाउँमा उत्पादित तरकारी बेच्न थालेका छन् । “प्रायः सबै घरमा बाथरुम सहितको सुविधा छ, र एउटा घरमा ३ जनासम्म पाहुना राख्न सक्छौं,” सचिव तालबहादुर सुनारले भने ।
होमस्टेमा आउने पाहुँनाहरूलाई लोकल कुखुरा, गाउँकै सागपात, गुन्द्रुक र भटमास लगायत परिकार खुवाउने गरिएको कोषाध्यक्ष मधुमाया विकले बताइन् ।
होमस्टे सञ्चालन गरेपछि ४० प्रतिशत युवाहरूलाई गाउँमा नै रोक्न सफल भएको अध्यक्ष विकले बताए । युवाहरूलाई गाउँमा नै पशुपालन र व्यावसायिक तरकारी खेती, इलेक्ट्रिसियन, पलम्बर, डकर्मीलगायतका तालिमको व्यवस्था गरी गाउँमा नै बस्ने वातावरण सिर्जना गरिएको उनले बताए । होमस्टेका लागि प्रदेश सरकारबाट १० लाख अनुदानसमेत प्राप्त भएको उनले जानकारी दिए । प्राप्त अनुदानबाट होमस्टेको प्रवेशद्वार, एक घरबाट अर्को घरसम्म पुग्न सिंढी बाटो बनाउने र सुविधायुक्त बाथरुम नभएको घरमा बाथरुम बनाउने काम गरिएको विकले जानकारी दिए ।
दमौली बजारबाट ५ किमि दूरीमा पर्ने आँपस्वाँरा होमस्टे प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त गाउँ हो । त्यहाँबाट सूर्योदय, हिमशृंखला, सेती नदी, दमौली बजार र हरियाली डाँडाकाँडा अवलोकन गर्न सकिन्छ ।