कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
185

मनाङ-हिमालपारीको जिल्ला मनाङमा यारतुङ अर्थात घोडा कुदाउने पर्व सुरु भएको छ । जिल्लाको माथिल्लो क्षेत्र ङिस्याङअन्तर्गत माथिल्लो मनाङमा रौनकका साथ यारतुङ सुरु भएको हो ।
मनाङमा वर्खायाममा बाली लगाइ सकेपछि बर्सेनि घोडा दौडाएर खुसियाली मनाउने चलन रहेको मनाङका स्थानीय बताउँछन् । ऐतिहासिक र परम्परागत पर्व भएकोेले हरेक वर्षा विषेश रुपमा यारतुङ मनाउने गर्दछन । यारतुङ पर्वमा गाउ“का युवा तथा वृद्धावृद्ध सबैले घोडा कुदाउनुका साथै संस्कारमा आधारित नाचगान गरी दिनरात कटाउने गर्छन् ।

पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने मनाङमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यारतुङ मनाउने पनि गरेका छन् । पर्वमा स्थानीय संस्कृतिस“गै राष्टिय तथा स्थानीय कलाकारले भव्य सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।
माथिल्लो मनाङपछि खाङसार, पिसाङ, हुम्डे, ङाँवल लगायत मनाङका विभिन्न गाउँहरूमा छुट्टाछट्टै यारतुङ पर्व मनाउने चलन छ । यद्यपि यारतुङका विदेश लगायत स्वदेशका पनि विभिन्न ठाउँबाट आफ्ना आफन्तहरूलाई निमन्त्रण गरी उत्साहका साथ मनाउने गर्छन् ।
एकदशक अघिसम्म मनाङका प्रायः प्रत्येक घरमा घोडा थिए । धनाड्यहरूले एउटै घरमा पाँचवटासम्म घोडा पाल्ने गर्थे । सडक सञ्जाल नहुँदा मनाङका सरकारी अड्डाका प्रमुखहरूलाई पनि घोडाको व्यवस्था थियो । तर, पछिल्लो समय मनाङमा यातायात पुगेपछि घोडा पाल्ने चलन हराउँदै गएको छ । यातायात पुगेर घोडा पाल्न छोडेपछि मनाङको सांस्कृतिक पर्व यारतुङ पनि संकटमा परेको ङिस्याङ–१ का वडा अध्यक्ष भुजुङ गुरुङले बताए ।
मनाङमा बर्खायाममा बाली लगाइसके पछि बर्सेनि घोडा दौडाएर यारतुङ पर्व मनाउने चलन छ । युवाहरू विदेश पलायन, घरघरमा सवारी साधन र घोडा अभाव हुँदा यारतुङ मनाउन निकै कठिन हुँदै गएको ङिस्याङका समाजसेवी याङडुङ गुरुङले बताए ।
युवापुस्तामा पश्चिमेली प्रभावले यारतुङ पर्वमा गाईने गितहरू पनि लोप हुँदै गएको छ । मनाङका केही अग्रजहरूले परम्परालाई धान्दै आएपनि घोडा अभाव र गित गाउने व्यक्ति पनि नहुँदा केही वर्षमा यारतुङ लोप हुन अग्रजहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
a

सन्देश पौडेल