कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
330

करिब ५ वर्षपछि नेपाल र चीनबीच आगामी महिना हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच चीनको राजधानी बेइजिङमा साउन ९ तथा १० गते उडान संख्या वृद्धि, हवाईमार्ग पुनरावलोकन र द्विपक्षीय हितका अन्य विषयमा वार्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने बताएका हुन् ।
बाँस्कोटाका अनुसार नेपाल र चीन सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तापश्चात तय हुने हवाई सेवासम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई टोली नेताले हस्ताक्षर गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गरिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । सन् २०१४ मा नेपाल र चीनबीच सम्झौता भएको थियो । बेइजिङमा साउन ९ तथा १० गते हुने वार्तामा साप्ताहिक उडान ७० पु¥याइने जनाइएको छ । हाल चीनबाट नेपालमा साताको ५६ वटा उडान हुन्छ । चीनसँग नेपालले सन् २००२ मा भएको दुईपक्षीय हवाई सेवा सम्झौता पुनरवालेकनपछि सातामा १४ उडान गर्ने सहमति भएको थियो ।

सम्झौताअनुसार दुबै मुलुकका वायुसेवा कम्पनीले समान संख्यामा उडान गर्न पाउँने भए पनि नेपाली हवाइ कम्पनीलाई भने चीनले उडान अनुमति दिइसकेको छैन । लामो कसरतपछि नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको हो । वार्तामा नेपाल र चीनबीच उडानका लागि निश्चित विमानस्थल नतोकी वायुसेवा कम्पनीहरू जुनसुकै विमानस्थलमा जानसक्ने गरी सम्झौता पुनरावलोकनको तयारी गरिएको छ ।
हाल चीनबाट ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् भने नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन जान चाहे पनि चीनले अनुमति दिएको छैन । सम्झौता पुनरावलोकनपछि नेपाली वायुसेवा कम्पनीहरूको चीन उडान पनि सहज हुने नेपालल विश्वास गरेको छ ।
नेपाल वायुसेवा निगमले तीन वर्ष अघिदेखि चीन उडान अनुमति मागे पनि अझै पाएको छैन । निगमले एयरबस ए ३२०–२०० सिरिजको न्यारोबडी ल्याएपछि चीन उडानका लागि अनुमति मागेको थियो ।
विगतमा दुई देशबीच भएको हवाई सेवा सम्झौता संशोधन गर्न लागेको मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए । उनले वार्ताबाट नै कति उडान गर्न पाउने भन्ने तय हुने बताए । वार्ता टोलीमा मन्त्रालयका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य, नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरण, कानुन मन्त्रालय, चीनस्थित नेपाली दूतावासबाट प्रतिनिधि सहभागी हुनेछन् ।
नेपालका अनुसार अब हुने सम्झौतामा चीनका वायुयान काठमाडौंपछि निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलमा जानसक्ने बताइएको छ । विगतको सम्झौता पुनरावलोकन गर्दा निमार्णाधीन विमानस्थलमा पनि हवाई सेवा सञ्चालन गर्ने गरी सम्झौतामा प्रावधान थप गर्न लागिएको हो ।