प्रकाश लम्साल
बुधवार, असार २५, २०७६
2982

बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्न सरकारलाई दबाब परिरहेका बेला आयोजनाको सिमरा कार्यालयले वन र वातावरणको कम क्षति तथा लगानीसमेत घट्नेगरी वैकल्पिक ढाँचा सार्वजनिक गरेको छ । सरकारलाई अघि बढाउनै सकस बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एकातर्फ रुख कटानको विवाद छ भने अर्कोतर्फ लगानी कसरी जुटाउने भन्ने चिन्ता छ ।
“सरकारलाई सघाउन वैकल्पिक र उत्तम उपायसहितको अवधारणा ल्याएका छौं,” दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले भने, “निर्माण मोडालिटी, स्रोत व्यवस्थापन र वातावरणीय मुद्दा व्यवस्थापनका विकल्पहरू यस अवधारणमा समाविष्ट छन् ।” आफूले प्रस्तुत गरेको विकल्पमा गए आगामी पाँच वर्षभित्रै विमानस्थन निर्माण गरी सञ्चालन गर्न सकिने उनको दावी छ ।

शर्माका अनुसार अवधारणाअन्तर्गत पहिलो पाँच वर्षमा एउटा धावनमार्ग र टर्मिनल भवनलगायतका संरचना बनाएर विमानस्थल चलाउन सकिन्छ । कुल १ खर्ब १० अर्ब रूपैयाँ लगानीबाट पहिलो चरणको काम सकिने उनको आकलन छ । यसको लागि वार्षिक ३० अर्ब स्रोत व्यवस्थापन गर्दा पुग्ने उनले बताएका छन् ।
पाँच वर्षको पहिलो निर्माण चरणमा १० हजार रुख काट्दा पुग्छ । टाँगिया बस्ती स्थानान्तरण र १० हजार रुख काटेर एउटा धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन, जहाज पार्किङ, प्रवेश मार्ग, गाडी पार्किङ, एउटा कार्गो भवन, फायर स्टेसन, फ्यूलमार्ग, राडारलगायतका संरचना यति बजेटबाटै निर्माण हुने शर्माको अवधारणमा उल्लेख छ ।
टाँगिया बस्तीमा १४७६ परिवारलाई विमानस्थलको दक्षिण–पश्चिम भेगमा रहेको ऐलानी जग्गामा स्थानान्तरण गर्न सकिने विकल्प यसअघि नै स्थानीय तहले दिएका छन् । शर्माले विमानस्थल बनाउँदा ७० प्रतिशत सालका रुख काट्नु नपर्ने उल्लेख गरेका छन् । उनका अनुसार विमानस्थलको पूरै काम सकिँदा कुल ३ लाख ३४ हजार रुख काट्नुपर्ने र त्यसमध्ये करिब ५९ हजार ५ सयको संख्यामा सालका रुख पर्नेछन् । विमानस्थलको लागि छुट्याइएको क्षेत्रमा करिब २५ लाख रुख रहेको वातावरणीय प्रभाव अध्ययनले देखाएको थियो
२४ रुख काट्ने प्रक्रिया सुरु भएपछि विमानस्थल आयोजना नै विवादमा परेको थियो । प्रस्तावित विमानस्थलको कुल क्षेत्रफल ८ हजार हेक्टर हो निजगढ विमानस्थल सञ्चालनमा आइसक्दा पनि ४ हजार हेक्टर वन क्षेत्र कायम रहने शर्माले बताए ।
आयोजना प्रमुख शर्माका अनुसार दोस्रो चरणको काम कुल ३ खर्ब ७० अर्ब लगानी गरेर १२ वर्षमा पूरा गर्न सकिन्छ । त्यस अवधिमा दोस्रो धावनमार्ग र टर्मिनल लगायतका संरचनाहरू निर्माण हुनेछन् भने तेस्रो चरणको काम १ खर्ब २० अर्ब आन्तरिक लगानी जुटाएर सम्पन्न गर्न सकिने हिसाब शर्माले निकालेका छन् । यो चरणमा तेस्रो धावनमार्ग, टर्मिनल भवनलगायत बाँकी संरचनाहरू बन्ने उनले तयार पारेको विमानस्थल निर्माणको वैकल्पिक ढाँचामा उल्लेख छ ।
तीनवटा धावनमार्ग रहने प्रस्तावित विमानस्थलमा चार टर्मिनल भवन हुनेछन् । चौथो टर्मिनलबाट आन्तरिक उडान व्यवस्थापन हुनेछ । वार्षिक ३० अर्ब रुपैयाँ छुट्याएर तीनवटै चरणको काम सकिने विमानस्थल आयोजना प्रमुख शर्माको अवधारणामा उल्लेख छ ।
इन्जिनियर शर्माले तयार पारेको वैकल्पिक ढाँचा अनुसार तेस्रो चरणको काम सम्पन्न भइसक्दा पनि विमानस्थलको आधा हिस्सामा वन कायम रहन्छ । विमानस्थल सञ्चालनको यो मोडालिटी सम्बन्धित सबै निकायमा पु-याइसकिएको जनाएका छन् ।
आयोजना निर्माण र सञ्चालन गर्न बोर्ड गठन गर्नुपर्ने प्रस्ताव गर्दै शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विकास बोर्डलाई निर्माण सकिएपछि ‘निजगढ एयरपोर्ट कर्पोरेसन’मा रूपान्तरण गर्नुपर्ने बताए । निजगढ विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक १५ सय उडान र अवतरणबाट २ लाख यात्रुको आउजाउ हुने प्रक्षेपण गरिएको छ ।
यसअघि नागरिक उड्डयन मन्त्रालयलाई एलएमडब्लुले बुझाएको प्रतिवेदनअनुसार विमानस्थल निर्माण गर्न ११ हजार ८७ विगाहा जमिन अधिग्रहण गर्नुपर्ने जसमा टाँगिया बस्तीका करिब १४ सय घरघुरी रहेको र विमानस्थलका लागि करिब ८० वर्ग्किलोमिटर भित्रको करिब ३ हजार हेक्टर क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने आवश्यकता देखाइएको छ ।
यसमध्ये २ हजार हेक्टरमा दुई धावनमार्ग र टर्मिनलसहितको विमानस्थल र १ हजार हेक्टरमा सुविधा सम्पन्न विमानस्थल सिटी निर्माण गर्नसकिने र ठूलो संख्यामा रुख काट्नुपर्ने एलएमडब्लुको प्रतिवेदनमा उल्लेख छ ।