महादेव अवस्थी
मंगलबार, असार २४, २०७६
247

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका मध्यवर्ती क्षेत्रका युवाहरूलाई १० दिने नेचर गाइड तालिमको आयोजना गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम (एनटिएनसी)ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका युवाहरूलाई आधारभूत प्रकृति पथ प्रदर्शक ‘नेचर गाइड’ तालिमको आयोजना गरेको हो ।नेपाल पर्यटन बोर्डको सहयोगमा बिहीबारदेखि सुरु भएको तालिममा मध्यवर्ती क्षेत्रका २५ जना युवायुवती छन् । नेपाल भ्रमण २०२० लाई टेवा पुगाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले नेपालमा पर्यटकको संख्यामा वृद्धि भइरहेको बताए । उनले शुक्लाफाँटामा विगतभन्दा पर्यटकहरू बढी संख्यामा अवलोकनका लागि आइरहेको बताए ।पर्यटन व्यवसाय महत्वपूर्ण व्यवसाय भएको भन्दै उहाँले तालिमपश्चात् पर्यटन व्यवसायमा लाग्न युवाहरूलाई आग्रहसमेत गरे । तालिम उद्घाटन समारोहमा बोल्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको देवीदल गण मझँगाउँ ब्यारेकका प्रमुख सेनानी राजु बस्न्यातले तालिममा सिकेका कुरालाई उपयोग गर्नुपर्ने धारणा राखे । बस्न्यातले भने, “यहाँ सिकेका कुरा पर्यटनसँगै अन्य क्षेत्रका लागि पनि उपयोगी हुन्छन कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख सुदीपराज निरौला, मध्यवर्ती क्षेत्रका विभिन्न उपभोक्ता समूहका पदाधीकारीहरू सहभागी थिए । १९ गतेदेखि सञ्चालन भएको कार्यक्रम २८ गतेसम्म चल्नेछ । तालिम सकिएपछि हुने परीक्षामा उत्तीर्ण हुनेलाई ‘नेचर गाइड’ लाइसेन्स दिइने प्रकृति संरक्षण कोषका प्रमुख निरौलाले जानकारी दिए ।