मनोरञ्जन शर्मा
आइतवार, असार ८, २०७६
2931

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
विमानस्थलको मुख्य पाटो ३ किलोमिटर धावनमार्ग, एप्रोन (प्लेन पार्किङ) र ट्याक्सी वेको निर्माणकार्य सम्पन्न भइसकेको छ । विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने तिथि भने यही असार १३ गते शुक्रबार (जुन २८) हो । उक्त मितिमा विमानस्थल निर्माण सम्पन्न नहुने ३ महिनाअघि नै कामको गति हेर्दा स्पष्ट भइसकेको थियो । तर पछिल्लो समय निर्माण तीव्र गतिमा भइरहेको छ । तोकिएको समयमा निर्माण नसक्ने भएपछि निर्माण कम्पनीले समयावधि थपका लागि निवेदन दिइसकेको छ ।

“समय थप्न माग गर्र्दै निर्माण कम्पनीले निवेदन दिइसकेको छ, अझै निर्णय भइसकेको छैन, समय कति थपिन्छ छलफल भइरहेको छ, समय थप्नुको विकल्प छैन,” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख तथा इन्जिनियर प्रवेश अधिकारीले भने ।
समय कति थप्ने टुंगो नलागे पनि सन् २०१९ को डिसेम्बरसम्मका लागि समय थप हुनसक्ने बुझिएको छ । यस विषयमा दातृ निकाय एडीबी, नागरिक उड्डयन प्राधिकरण र आयोजना कार्यालयबीच छलफल भइरहेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि थप भए पनि लागत भने नबढ्ने भएको छ । निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले समय थप पाए पनि अतिरिक्त रकम भने पाउँदैन । म्याद थप पनि निर्माण कम्पनीले सुरुको सम्झौता रकम ६ अर्ब २२ करोड ५१ लाखमै काम गर्ने आयोजना प्रमुख अधिकारीले बताए । समय थपपछि भेरियसन गरी पुनः लागत बढ्ने आंकलन गरे पनि त्यसो नहुने र पुरानै लागतमा निर्माण सम्पन्न गर्नुपर्ने अधिकारीले बताए ।
२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय आपूर्तिकर्ता बीचको आपसी मतभेद, तराई–मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्री अभावजस्ता कारणले आयोजना निकै पछि धकेलिँदै आएको छ । यसअघि पनि २ पटकसम्म समय थप गरिएको थियो ।
“तेस्रोपटक म्याद थप भए पनि लागत बढ्दैन, बरु हामीले ठेकेदारलाई जहाज पार्किङस्थल आउने बाटो पुरानै बटेजबाट एउटा थप बनाउन भनेका छौं,” आयोजना प्रमुख अधिकारीले भने, “अघिल्लोपटक लागत बढ्यो अहिले पनि बढ्छ भनेर बाहिर जुन हल्ला आयो, त्यो होइन, थप कामका लागि रकम उपलब्ध गराइएको हो ।”
रन–वेबाट जहाज पार्किङस्थल आउने तीनवटा बाटो बनाइसकिएको छ । निर्माण कम्पनीलाई आयोजनाले अहिले थप एउटा बाटो पनि बनाउन आग्रह गरेको छ । जहाज ल्याण्ड गरिसकेपछि घुमेर केही वर आएपछि पार्किङस्थल जाने गरी तीनवटा बाटोे बनाइएको छ । तर, आयोजनाले प्रस्ताव गरेअनुसार ल्यान्ड गरिसकेपछि जहाज नघुमाई सिधै पार्किङस्थल जान थप एउटा बाटो बनाउन लागिएको हो । “यसले जहाज घुमाएर पार्किङस्थल जानुपर्ने बाध्यता हट्छ, विमानस्थल आधुनिक देखिन्छ,” अधिकारीले भने, “यो थप काम पुरानै सम्झौताभित्रको बजेटबाट गरिनेछ ।”
समयमा आयोजना सम्पन्न गर्न नसक्दा निर्माण कम्पनीलाई आर्थिक भार भने बढदै गएको छ । “सम्झौता गर्दा निर्माण सामग्रीको मूल्य सस्तो थियो, अहिले सबै सामग्रीको मूल्य बढेको छ । काम समयमै सकिएको भए निर्माण कम्पनीले प्राप्त मूल्यमै सम्पन्न गर्न सक्थ्यो । अहिलेसम्म धावनमार्ग निर्माण सम्पन्न भए पनि टर्मिनल भवन (आन्तरिक र बाह्य)को अन्तिम फिनिसिङ भइरहेको छ । यस्तै, कन्ट्रोल टावर तथा अन्य पूर्वाधारको काम जारी छ । पछिल्लो समय धेरै प्रगति भएको छ, निर्माण कम्पनीले आईसीपी टु अन्तर्गत कम्युनिकेसन, नेभिगेसन लगायत विद्युतीय उपकरण, सूचना संयन्त्र जडान गर्ने काम गर्दैछ । यी काम सक्न कम्तीमा एक महिना लाग्ने जनाइएको छ । २०२० को जनवरीमा यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाइएको छ । साथै मुख्य काम भनेको विमानस्थल निर्माण सम्पन्न हुनु अगावै अन्तर्राष्ट्रिय उडानको प्रमाणपत्र प्राप्ति, थप हवाई रुट प्राप्ति र मुख्य कुरा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीबाट उडानका लागि अनुमति दिनु र अन्तर्राष्ट्रिय उडानका लागि टिकट बिक्री सुरु गराउन (मार्केटिङ) लबिंग गर्नु हो । अब अप्ठेरा र मुख्यमुख्य काम सकिएको हँुदा साना साना तथा फिनिसिङ र प्रशासनिक काम बाँकी छ । मुख्य दातृ निकाय एडीबीले भने सन् २०२० को जुनसम्म अन्तर्राष्ट्रिय उडान सुरु हुनसक्ने आंकलन गरे पनि सरकार भने २०२० को जनवरीमा उडान सुरु गर्ने भनेर लागिपरेको छ ।